कांग्रेस क्षेत्र नम्बर १ बाँकेको पूर्ण बैठक तथा सरसफाई कार्यक्रम सम्पन्न

शनिबार, पुस २१, २०८०
Neuro hospital Nepalgunj

बाँके। नेपाली कांग्रेस क्षेत्र नम्बर १ बाँकेको पूर्ण बैठक आज राप्तीसोनारी गाउँपालिका वडा नम्बर ३ बनघुसरीस्थित भुवरभवानी मन्दिर परिसरमा सम्पन्न भएको छ ।

क्षेत्रीय सभापति पोषण केसीको सभापतित्व एवम् नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलको प्रमुख आतिथ्यता एवम् लुम्बिनी प्रदेश सदस्य टेकनारायण भुषालको विशिष्ट आतिथ्यतामा पूर्ण बैठक सम्पन्न भएको हो । 

बैठकले क्षेत्रभर प्रशिक्षण कार्यक्रम चलाउने, क्रियाशील सदस्यता नवीकरणको कामलाई प्रभावकारी ढंगले अगाडि बढाउने लगायतका निर्णय गरेको क्षेत्रीय सचिव खुमबहादुर बस्नेतले बताए । राप्तीसोनारी वडा नम्बर ३ र ४ कार्यसमितिले संयोजन गरेको पूर्ण बैठकलाई सम्बोधन गर्दै पार्टी सभापति गौडेलले पार्टीलाई तल्लो तहसम्म चलायमान बनाउन सम्पूर्ण पार्टी संयन्त्रलाई क्रियाशील हुन निर्देशन दिए । पार्टीको निर्णयलाई अक्षरशः पालना गर्दै संगठन निर्माण र जनविश्वास आर्जनमा गम्भीरताका साथ लाग्न पार्टी कार्यकर्तालाई आह्वान गरे । उनले पार्टी निर्णय नमान्ने नेता कार्यकर्तालाई तत्काल कारबाही गर्ने नीति बाँके कांग्रेसले लिएको भन्दै पार्टीका निर्देशन अबज्ञा गर्ने छुट नभएको स्पष्ट पारे । ूपार्टी निर्णय विपरीतका क्रियाकलाप गर्नेहरुलाई हामी तत्काल कारबाही गर्छौं," पछिल्ला केही कारबाहीका घटना स्मरण गराउँदै उनले भने(ूपार्टीमा अराजकता र अनुशासनहिनता स्विकार्य छैन, हामी त्यसमा प्रष्ट छौं ।"

क्षेत्रीय सभापति केसीले स्वतन्त्रताका नाममा पार्टीमा स्वच्छन्दता बढ्दै गएको भन्दै पार्टी हित विपरीत क्रियाकलाप गर्ने छुट कसैलाई नभएको बताए । केसीले पार्टीका कार्यकर्ताहरुमा उत्साह थप्न मोबाइल मिटिंग गर्ने नीति अनुरुप ठाउँ ठाउँमा सामाजिक सेवाका कार्यक्रमहरुसहितको बैठक आयोजना गरिरहेको बताए । बैठकमा पार्टीका जिल्ला उपसभापति कृष्णबहादुर कार्की, प्रदेशसभा क्षेत्र नम्बर १ (ख) का सभापति बलराम शर्मा, निवर्तमान क्षेत्रीय सभापति माधवराम खत्री, क्षेत्र नम्बर १ बाट निर्वाचित महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि लगायत उपस्थित थिए । 

यसैबीच बैठक पश्चात मन्दिर परिसरमा सरसफाई समेत गरिएको छ । उपस्थित नेता कार्यकर्ताले मन्दिर क्षेत्रको सरसफाई गरेका थिए । नेपाली कांग्रेस क्षेत्र नम्बर १ बाँकेले मन्दिर व्यवस्थापन समितिलाई ८ वटा डस्टबिन समेत उपलब्ध गराएको क्षेत्रीय सचिव बस्नेतले जानकारी दिए ।

 

प्रकाशित मिति: शनिबार, पुस २१, २०८०  २०:३५
प्रतिक्रिया दिनुहोस्