राष्ट्रिय सभा उम्मेदवार छान्न कांग्रेस कार्यसम्पदान समितिको बैठक बस्दै

शनिबार, पुस २१, २०८०
Neuro hospital Nepalgunj

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज दिउँसो बस्दैछ । दिउँसो १ बजे पार्टी मुख्यालय बीपीनगर सानेपामा बैठक बस्न लागेको हो । 

बैठकको मुख्य एजेन्डा राष्ट्रिय सभामा हुने १९ सदस्यको निर्वाचनका लागि उम्मेदवार चयन गर्नु हो । राष्ट्रपतिले मनोनित गर्ने १ जनासहित २० जनाको पदावधि फागुनमा सकिँदैछ । 

त्यसअघि माघ ११ गते १९ जनाका लागि निर्वाचन हुँदैछ । निर्वाचनमा कसरी जाने भन्ने यकिन अझै भइसकेको छैन । 

कांग्रेस सत्तागठबन्धनमा भएकाले यसपालि पनि चुनावी तालमेल हुने देखिन्छ । तर कांग्रेसले कति सिट पाउने भन्ने यकिन भएको छैन । 

यद्यपि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने एमालेलाई पनि समेट्नु पर्नेमा जोड दिएका छन् । यसमा कांग्रेस सभापति शेरबहादुर देउवा पनि सहमत छन् । तर गठबन्धनकै अर्को दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भने राजी छैनन् । 

एमालेले शुक्रबार मात्रै १९ जना नै उम्मेदवार उठाउने निर्णय गरेको छ । यदि गठबन्धन कायम रहे एमालेको एक सिट पनि आउँदैन । उसले आन्तरिक रुपमा गठबन्धन फुटाउन खोजिरहेको छ । 

त्यसो गर्दा उसलाई फाइदा हुन सक्छ । अर्कातर्फ गठबन्धन हुँदा यसअघि जुन दलले जति सिट जितेको थियो त्यति पाउने र एमालेको सिटमा भागबण्डा गर्ने पुरानो सहमति रहेको छ । 

तर संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक संसदबाट पारित गर्नुपर्ने विषयलाई ध्यानमा राखेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रमुख प्रतिपक्ष एमालेलाई पनि सिट दिनुपर्नेमा रहेका छन् । 

एमालेले भने बाहिर बाहिर टीआरसीमा सहमति हुन नसक्ने जनाएको छ । यो परिस्थितिबीच कांग्रेसले आज कस्तो निर्णय गर्छ भन्ने पाटो महत्वपूर्र्ण रहेको छ । 

 

प्रकाशित मिति: शनिबार, पुस २१, २०८०  ०९:०१
प्रतिक्रिया दिनुहोस्