राप्रपा अध्यक्ष लिङ्देन मलेसिया प्रस्थान

शुक्रबार, पुस २०, २०८०

काठमाडौँ । पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज मलेसियाको निमन्त्रणामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन मलेसिया प्रस्थान गरेका छन् । 

भेलालाई सम्बोधन गर्न  गएराति उनी मलेसिया प्रस्थान गरेको  पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए । 

उनका अनुसार अध्यक्ष लिङ्देन भ्रमणका क्रममा मलेसियामा रहेका नेपाली समुदायसँग भेटघाट, छलफल र अन्तरक्रिया गर्ने कार्यक्रम तय भएको छ । 

यसैगरी, मलेसियामा रहँदा अध्यक्ष लिङ्देनले जनवरी ६ तारिखमा किरात याक्थुङ चुम्लुङको आयोजनामा हुने किराती समुदायको स्वागत ग्रहण गर्दै सम्बोधन तथा जनवरी ७ तारिखमा होटल ग्रान्ड कन्टिनेन्टलमा हुने प्रवासी नेपाली एकता समाजको भेलालाई सम्बोधन गर्ने जनाइएको छ । 

मलेसियामा रहेका विभिन्न प्रवासी नेपाली सङ्घसंस्था, नेपाली राजदूतावासलगायत सरोकारवालासँग भेट गरी नेपाली श्रमिकका समस्या र समाधानका लागि भइरहेका प्रयासबारे जानकारी लिने कार्यक्रमसमेत रहेको प्रवक्ता श्रेष्ठले बताए ।

मलेसिया प्रस्थान गर्नुअघि अध्यक्ष लिङ्देनले पार्टी उपाध्यक्ष बुद्धिमान तामाङलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रदान गरेका छन् । अध्यक्ष लिङ्देन यही पुस २४ गते स्वदेश फर्किनेछन् । 

प्रकाशित मिति: शुक्रबार, पुस २०, २०८०  १२:२८
प्रतिक्रिया दिनुहोस्