राष्ट्रिय सभा चुनावका लागि आज मतदाता नामावली प्रकाशित हुँदै

शुक्रबार, पुस २०, २०८०
Neuro hospital Nepalgunj

काठमाडौंं । आज राष्ट्रिय सभा निर्वाचनका लागि  मतदाता नामावली प्रकाशन हुँदैछ । निर्वाचन आयोगका अनुसार राष्ट्रिय सभामा प्रदेशका सांसद र पालिकाका प्रमुख तथा उपप्रमुख राष्ट्रिय सभाका मतदाता हुन्छन् ।

प्रकाशित मतदाता नामावलीउपर दाबी विरोधलगायत कार्य आजैदेखि सुरु हुनेछ । पुस २२ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ ।

पुस २३ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म उमेदवारको मनोनयन दर्ता गरिनेछ । पुस २७ गते उमेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।

पुस २८ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने निर्वाचन कार्यतालिका छ । माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान गरिनेछ । मतदान सकिएपछि सोही दिनै मतगणना गरिने आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद आर्यालले जानकारी दिएका छन् । 

माघ ११ गते राष्ट्रियसभामा रिक्त १९ पदका लागि निर्वाचन हुँदै छ । आगामी फागुन २० गते एमालेका ९, कांग्रेसका ४, माओवादीका ३, एकीकृत समाजवादीका २, जसपाका १ र स्वतन्त्र सांसद १ जना गरी २० सांसदको पदावधि सकिँदै छ ।

कोशी प्रदेशबाट २, मधेस प्रदेशबाट २, बागमती प्रदेशबाट ४, गण्डकी प्रदेशबाट ३, लुम्बिनी प्रदेशबाट २, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट ३–३ सदस्यका लागि निर्वाचन हुँदैछ । २०७२ मा संविधान जारी भएपछि निर्वाचित भएका राष्ट्रिय सभा सांसदहरूको पदावधि गोला प्रथाबाट तय गरिएको थियो ।

गोलाप्रथामा त्यतिबेला ६ वर्ष अवधि पाएका सदस्यहरूको समय आगामी फागुन २० मा सकिन लागेको हो । राष्ट्रिय सभा सदस्यहरूको पद रिक्त हुनु एक महिना अगाडि नै निर्वाचन गराउनुपर्ने संवैधानिक व्यवस्था छ ।

 

प्रकाशित मिति: शुक्रबार, पुस २०, २०८०  ०७:३१
प्रतिक्रिया दिनुहोस्