तमु समाजले मनायो बेल्जियममा ल्होछार

बिहीबार, पुस १९, २०८०

युरोप । बेल्जियममा बसोवास गर्ने तमु (गुरुङ) हरुको पुरानो एवम् लोकप्रिय ”संस्था तमु समाज–बेल्जियम”ले तमु जातीहरुको बिशेष पर्व २६०८ औं तमु ल्होछार हि ल्हो (बिरालो बर्ग) को बिदाई र मुप्रि ल्ह (गरुड बर्ग)को स्वागतका अवसरमा शनिवार बेल्जियमको लुभेनमा भब्य कार्यक्रम सम्पन्न गरेको छ। 

कार्यक्रममा प्रमुख अतिथिको आसनवाट बोल्दै बेल्जियम, नेदरल्याण्ड र लम्जम्वर्गका लागि नेपाली राजदुत गेहेन्द्र राजभण्डारीले तमु समाज बेल्जियमले तमुहरुको भाषा, धर्म, कला र संस्कृति संरक्षण र सम्वर्धनका लागि अत्यन्त महत्वपूर्ण र उधाहरणीय काम गरेको खुसी व्यक्त गर्दै यी र सामाजिक सेवाका अन्य कार्यहरुमा अझ बढि सक्रियताका साथ लाग्नुपर्ने बताए। 

राजदुत राजभण्डारीले संस्थाहरुले नेपाली समाजलाई संगठित गर्दै लग्नु पर्नेमा जोड दिएका थिए। 

नेपाल आदिवासी जनजाती महासंघ बेल्जियमका अध्यक्ष बीरमान घर्ति मगर, गैरआवासीय बेल्जियमकी अध्यक्ष सीता सापकोटाले कार्यक्रमको सफलताका लागि शुभकामना व्यक्त गरेका थिए । 

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि राजदुत राजभण्डारी र तमु समाज बेल्जियमका जेष्ठ अभिभावक क्याप्टेन जोगबहादुर गुरुङले संयुक्त रुपमा दीप प्रज्वलन गरी संयुक्त रुपमा गरेका थिए ।

त्यस्तै उक्त कार्यक्रममा लामा गुरु मदन गुरुङद्धारा पुजा गरिएको थियो । 

कार्यक्रमको सभापतित्व समाजका अध्यक्ष होम गुरुङ र स्वागत मन्तव्य सूर्यबहादुर गुरुङ तथा आमा समूहकी अध्यक्ष मन्दरा गुरुङले गरेका थिए ।

सोहि कार्यक्रममा पूर्व अध्यक्ष पदमबहादुर गुरुङको संयोजकत्वमा तयार गरिएको तमु भाषा शब्दकोष र आशिमालाँ, स्मारिका भाग २ को प्रमुख अतिथि राजभण्डारीद्धारा विमोचन गरिएको थियो ।   

कार्यक्रमको दोश्रो शत्रमा बेल्जियमका स्थानीय कलाकारहरुले गीत तथा नृत्य प्रस्तुत गरेका थिए भने बेल्जियम र छिमेकी देशहरुमा बसोबास गर्ने तमुहरु कार्यक्रमको शुरुवात देखि नै आफ्नो मौलिक भेषभूषामा सजिएका थिए । 

कार्यक्रममा तमुहरुलाई मात्र नसमेटेर सबै नेपालीहरुलाई समेट्ने उद्धेश्यका साथ आफुहरुको अभिप्राय रहेको तमु समाज बेल्जियमका महासचिब चित्रजंग गुरुङ बताए ।  

कार्यक्रमका संयोजक नन्दु घलेले अधिकांस आमन्त्रितहरुले आफ्नो निम्तो स्वीकार गरेर कार्यक्रममा सहभागी भएकोले उहाँहरुको उपस्थितिले संस्था र संस्थाका पदाधिकारीहरुलाई ठुलो हौसला प्रदान गरेको र आफुलाई विश्वास गरेर संस्थाले प्रत्येक बर्ष संयोजकको भूमिका दिएकोमा समाज प्रति यो विश्वास टुट्न नदिने बताए ।  

तमुहरु गत बर्ष भन्दा यो बर्ष सृजनात्मक रुपले प्रस्तुत भएको र यस्ले समाजमा अत्यन्त सकारात्मक सन्देश दिएको आफुले मूल्याङ्कन गरेको संयोजक घलेको  कथन छ ।    

कार्यक्रममा स्थानीय संघ संस्थाका प्रमुख लगायत सर्बसाधारणको बाक्लो उपस्थिति रहेको थियो ।    

 

प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०  २०:३४
प्रतिक्रिया दिनुहोस्