प्रधानमन्त्री कप महिला टी-२० मा अपराजित एपीएफ फाइनलमा कोशीसँग भिड्दै

बुधबार, पुस १८, २०८०

काठमाडौँ । प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट प्रतियोगिताको फाइनल आज हुँदैछ। फाइनलमा सशस्त्र प्रहरी (एपीएफ) र कोशी प्रदेश भिड्दैछन् ।

काठमाडौंमा जारी प्रतियोगिताको फाइनल बिहान ११ बजेदेखि कीर्तिपुरस्थित क्रिकेट मैदानमा हुँदैछ ।  एपीएफ प्रतियोगितामा अपराजित हुँदै फाइनलमा पुगेको हो । लिग चरणमा सबै खेल जितेर शीर्ष स्थानमा रहँदै पहिलो क्वालिफायर खेलेको एपीएफले कोशी प्रदेशलाई ५२ रनले पराजित गर्दै फाइनलमा पुगेको थियो ।

त्यस्तै पहिलो क्वालिफायरमा पराजित भएर दोस्रो क्वालिफायर खेलेको कोशी प्रदेशले इलिमिनेटरमा बागमती प्रदेशलाई हराएको सुदूरपश्चिम प्रदेशलाई  ९ विकेटले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो ।

अब यस प्रतियोगितामा एपीएफ र कोशीबीच तेस्रो पटक भिडन्त हुँदैछ । यसअघिका दुवै भिडन्त एपीएफले जितेको थियो । 

लिग चरणमा एपीएफले ८ विकेटले कोशीलाई पराजित गरेको थियो । अब तेस्रो भिडन्तमा कोशीले एपीएफलाई हराएर बदला लिने अवसर रहेको छ । 

लिग चरणमा सशस्त्रले १४, कोशीले १२, सुदूरपश्चिमले १० तथा बागमती प्रदेशले ८ अंक हासिल गर्दै प्लेअफमा पुगेका थिए । 

मधेस प्रदेश ६, लुम्बिनी प्रदेश ४, गण्डकी प्रदेश २ तथा कर्णाली प्रदेश अंकविहीन हुँदै बाहिरियो । एक विभागीय र सात प्रदेश गरी आठ टिमबीच प्रतिस्पर्धा भएको हो ।  

 

 

प्रकाशित मिति: बुधबार, पुस १८, २०८०  ०९:४५
प्रतिक्रिया दिनुहोस्