क्यासिनोप्रति किन नकारात्मक टीकाटिप्पणी ?

आइतबार, पुस १५, २०८०
Neuro hospital Nepalgunj

लुम्बिनी । नेपालका सीमा नाकामा पर्ने जिल्लाहरुमा राज्यलाई लाखौं रुपैयाँ कर तिरेर सन्चालनमा आइरहेका क्यासिनो (गेमिङ क्लब)  प्रति नकारात्मक टीकाटिप्पणी गरिन्छ ।

करोडौं रुपैयाँ खर्चेर सयौंलाई रोजगारी दिइरहेका क्यासिनोले पनि पर्यटन प्रवर्द्धनमा ठूलो सहयोग गर्दै आइरहेको भएपनि क्यासिनोलाई हेरिने नकारात्मक सोचले कतै क्यासिनो धरासायी त बन्ने हैनन् भन्ने विषय पनि पेचिलो बन्दै गएको छ।

अझ त्यति मात्रै हैन अहिले नेपाली क्यासिनोमा विदेशीलाई मात्र प्रवेश अनुमति हुँदा दैनिक भारतबाट आउने क्यासिनो खेलाडीहरुले सीमा नाकामा निकै सास्ती बेहोर्नु परिरहेको छ । नाकामा क्यासिनोमा आउने भारतीयहरुले सास्ती खेप्नु परेका थुप्रै घटनाहरु छन् । भारतको नौतनहवाका जाबेद अली भैरहवामा क्यासिनो खेल्न आउँदै थिए । नेपाल भारत सीमा क्षेत्र बेलहियामा उनी प्रहरीको जाँचमा परे । क्यासिनो खेल्नका लागि उनले आफ्नो खल्तीमा ४० हजार भारतीय (पाँच सयका नोट) रुपैयाँ बोकेका थिए। एकछिन सोही बिषयमा प्रहरीले सीमाभित्र आउन दिन रोक्यो, आउन प्रयास गरे तर सकेनन्। यो घटना हो पुस ८ गतेको । आफूले कमाएको पैसा बोक्न र बैधानिक क्यासिनो खेल्न जाँदा अनेकन दु:ख दिने गरेको दु:खेसो अलीले सुनाए।

अली एक प्रतिनिधि पात्र हुन् । पछिल्लो समय नेपालगन्जका क्यासिनोमा आउने भारतीयहरुलाई दु:ख दिने प्रवृत्ति बढ्दै गएपछि भारतीयहरु आउन कम भएको क्यासिनो सञ्चालकहरुले बताएका छन् । उनीहरु भन्छन्, 'सरकार र प्रहरीले क्यासिनो भनेपछि जुवा सम्झिने, यसको फाइदा राज्यलाई कति हुन्छ भन्ने कुराको ज्ञान भए पनि भारतबाट क्यासिनोमा आउनेहरुलाई सीमा नाकामा दु:ख दिने भएकाले बाह्य पर्यटकहरु आउने क्रम सुस्ताउँदै गएको छ।' 

'क्यासिनो पनि एउटा पर्यटन प्रवर्द्धनमूलक क्षेत्र  हो । सीमा नाका भएर सयौं भारतीयहरु क्यासिनोमा आउँदा उनीहरुलाई सौहार्दपूर्ण बाताबरणमा नेपाल भित्रिन दिनुपर्दछ,' नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्सी  (नाट्टा ) बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देल भन्छन्, 'यति मात्रै हैन क्यासिनोले विदेशी मुद्रा भित्र्याउने र  रोजगारी सृजना गरेको हुँदा सयौं नेपालीले रोजगार पाइरहेका छन् । राज्यलाई कर तिरेर खुलेका क्यासिनो चल्ने राम्रो बाताबरण सम्बन्धित निकायले बनाइदिनुपर्छ ।' नेपालीलाई प्रवेश गर्न नदिएर तोकिएका व्यक्ति (विदेशी नागरिक ) लाई सीमा नाकाबाट बिना सास्ती क्यासिनो आउन दिनपर्छ भन्ने आफ्नो मान्यता रहेको सिग्देल बताउँछन् । क्यासिनोमा आउने भारतीयले ५ सय रुपैयाँको नोट ल्याउँदा बरामद गर्ने प्रक्रिया गलत भएको हुँदा यात डलर ल्याउ भन्नुपर्यो हैन भने नोट ल्याउन दिनुपर्ने उनको भनाई छ । बिना कारण दु:ख दिन बन्द गरेर क्यासिनोलाई पर्यटकीय हब बनाउनतर्फ लाग्नुपर्ने उनी भन्छन् । क्यासिनोमा आउनेलाई अपराधी जस्तो गरेको देख्दा अचम्म लागेको उनी बताउँछन।

त्यस्तै चार तारे होटलका सञ्चालक युवा व्यवसायी विकास पाण्डेले पर्यटन विकासका लागि क्यासिनो महत्वपूर्ण हुने बताए । उनले भने, 'क्यासिनो पनि मुलुकको आवश्यकता हो जसले विदेशी मुद्रा भित्र्याउँछ । सरकारले क्यासिनोमा नेपालीलाई छिर्न बन्देज लगाएको छ । समयसँगै समाजका नियम, परम्परा बदलिए जस्तै अब क्यासिनोमा नेपाली पनि छिर्न पाउने गरी नियम बनाउनुपर्दछ, खेल्न सुविधा खोज्नेहरुका लागि विशेष राजश्व तिर्नुपर्ने व्यवस्था बनाएमा राज्यको राजश्वमा टेवा पुग्ने भएकाले विदेशी पर्यटकहरु भित्र्याउने एउटा माध्यम बन्दछ ।' विश्वका विकसित देशहरु अमेरिका, क्यानडा लगायत मुलुकहरु सम्पन्न बन्नुको पछाडि क्यासिनोको पनि भूमिका रहेको दाबी उनले गरे । 'त्यही क्यासिनोकै कारण लसभेगसमा ठूलाठूला होटल, आधुनिक शहर, ठूलो विमानस्थल र लाखौँ मानिसहरुको बस्ती बसेको छ । जुन क्षेत्र काम नलाग्ने मरुभूमि थियो । नेपालमा क्यासिनोलाई हेर्ने दृष्टिकोण फरक भएकाले खुलेका करोडौंका क्यासिनोहरु धरासायी बन्दै गएको छ,' पाण्डेले गुनासो पोखे । 

क्यासिनोले बरोजगारी समस्या समाधानमा पनि सहयोग पुग्ने पर्यटन क्षेत्रमा लामो समय काम गर्दै आएकी रुपन्देहीकी रचना श्रेष्ठले बताइन् । 'धेरै युवायुवतीहरुलाई यसले प्रत्यक्ष रोजगार दिइरहेको छ । हरेक क्यासिनोले वार्षिक २ करोड लाइसेन्स शुल्क सरकारलाई तिर्दै आएका छन् । क्यासिनो एउटा कानुनीरुपले जुवा खेल्ने स्थान भएकाले बाह्य पर्यटकलाई ल्याउने योजना फराकिलो बनाउन सकेमा नेपालमा पर्यटन क्षेत्र आर्थिक उत्पादनको केन्द्र बन्नेमा दुई मत छैन,' श्रेष्ठ भन्छिन्, 'अझ व्यवस्थितरुपमा चलाउनको लागि स्थानीय तहहरुले चासो दिनुपर्ने र पालिकाले पर्यटनमैत्री क्यासिनो नीति बनाएर बाह्य पर्यटकलाई भित्र्याउन जरुरी छ ।'

पर्यटन क्षेत्रमा काम गर्नेहरुले पनि नानाथरी कुरा गरेर पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउँदै आएका क्यासिनोहरुलाई अनावश्यक दु:ख दिन बन्द गर्नुपर्ने सरोकारवालाहरु बताउँछन् । अझ त्यति मात्रै होइन, कमसेकम भन्सार नाका अगाडि नै सम्बन्धित निकायले लैजान मिल्ने र नमिल्ने नोटको बारेमा जानकारी दिए क्यासिनोमा आउने त्यस्ता भारतीय नागरिकलाई सहज हुने उनीहरुको सुझाव छ ।

 

प्रकाशित मिति: आइतबार, पुस १५, २०८०  १०:०३
प्रतिक्रिया दिनुहोस्