दाङको कोइला खानीमा हत्या गरेर लुकाइएको एक पुरुषको शव फेला, दिल्लीबाट दुई जना पक्राउ

शनिबार, पुस १४, २०८०
Neuro hospital Nepalgunj

दाङ । दाङको बंगलाचुलीमा एक पुरुषको हत्या गरेर शव लुकाइएको अवस्थामा फेला परेपछि प्रहरीले गरेको अनुसन्धानबाट हत्या गरेको आरोपमा भारतको दिल्लीबाट दुई जनालाई पक्राउ गरेको छ।

बंगलाचुली गाउँपालिका-४ को गदारी र फाँटाको जंगलमा रहेको कोइला खानीको सुरुङभित्र घोराही-६ का शिवराज केसीको हत्या गरिएको अवस्थामा  लुकाइराखेको शव फेला परेको दाङ प्रहरीले जानकारी दिएको छ।

घोराहीस्थित अघरा टोल विकास समितिका अध्यक्षसमेत रहेका मृतक केसी पुस ८ गते घरबाट बंगलाचुली जाने भनेर हिडेको उनको सोही दिन नै हत्या भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

दाङ प्रहरीले हत्या आरोपमा बंगलाचुली-४ गदारीका ४३ वर्षीय शेरबहादुर कुँवर र उनकी श्रीमती दिपा कुँवरलाई  भारतको नयाँ दिल्लीबाट पक्राउ गरिएको  जनाएको छ ।

श्रीमान-श्रीमतीलाई भारतीय प्रहरीले पक्राउ गरी दाङ प्रहरीलाई जिम्मा लगाएको हो । केसीको हत्या गरी कोइला खानीको करिव ५० मिटर सुरुङ भित्र लुकाएर राखेको आरोपीको बयानको आधार खोजतलास गर्दा सोहि स्थानमा शव फेला परेको जिल्ला प्रहरी दाङले जनाएको छ ।

केसीको हत्या घटना बारेमा थप अनुसन्धान गरिरहेको दाङ प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति: शनिबार, पुस १४, २०८०  ०९:३९
प्रतिक्रिया दिनुहोस्