नेपाल्गन्जमा सुरु भयो मेट्रिक घर नम्बर प्रणाली

बिहीबार, पुस १२, २०८०
Neuro hospital Nepalgunj

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले मेट्रिक घर नम्बर प्रणाली शुरु गरेको छ । नेपालगन्ज उपमहानगरपालिका–१२ विपी चोकमा 'विपी मार्ग' रोड नेम प्लेटको उद्घाटन गर्दै नगर प्रमुख प्रशान्त बिष्टले मेट्रिक घर नम्बर प्रणाली सुरु गरेका छन्  ।

रोड नेम प्लेटको उद्घाटनपछि नगर प्रमुख विष्ट र उपप्रमुख कमरुद्दिन राईले उपमहानगरपालिका कार्यालयमा घर नम्बर प्लेट राखेर अभियानको सुरुवात गरे । 

पहिलो चरणमा वडा नम्बर १२ का ५० वटा घरमा स्याम्प्लिङका रुपमा नम्बर प्लेट राखिने नेपालगन्ज उपमहानगरपालिकाका इन्जिनियर चन्दनराज दासले बताए । पहिलो चरणमा स्याम्प्लिङका रुपमा घर नम्बर प्लेट राख्न सुरु गरिएको बताउँदै दासले १ देखि २३ नम्बर वडाका सबै घरलाई मेट्रिक घर नम्बर प्रणाली जोड्ने लक्ष्य रहेको जानकारी दिए । चालू आर्थिक वर्षमा वडा नम्बर १ का लागि १० लाख बजेट विनियोजन गरिएको छ । 

यो प्रणालीमा मूल सडकको मुख्य विन्दुदेखि मिटर (दुरी) का हिसाबले घरमा नम्बरिङ्ग गरिन्छ। मूल सडकको मुख्य विन्दुदेखि जति दुरी (मिटर) मा घर अवस्थित छ, त्यत्ति नै नम्बर उक्त घरलाई दिइन्छ । मुख्य विन्दुदेखि दायाँतिर जोड नम्बर र बायाँतिर विजोर नम्बर राखिने दासले जानकारी दिए । मेट्रिक घर नम्बर प्रणालीमा सफ्टवेयरमा घरको फोटो, घरधनीको नाम, कित्ता नम्बर लगायत 'सामाजिक-आर्थिक तथ्यांक प्रविष्ट गरिएको हुन्छ ।

"स्याम्प्लिङका रुपमा जिआइजेडले हामीलाई उपलब्ध गराएको सफ्टवेयरमा घरको डाटा इन्ट्री गरेपश्चात दोस्रो चरणमा नम्बर प्लेट राख्छौं," इन्जिनियर दासले भने-"यो प्रणाली सुरु भएपछि नागरिक (सेवाग्राही) को घर-घर  जानुपर्दैन, आवश्यक सूचना सफ्टवेयरबाटै लिन सकिन्छ ।" 

नेपालगन्जमा पहिलो चरणमा १० ठाउँमा रोड नेम प्लेट राखिनेछ । हाललाई कौशल्या मार्ग,विपी मार्ग, इदगाहा मार्ग, प्रगतिनगर मार्ग, आदर्शनगर मार्ग, कर्मशा मार्ग, शितलनगर मार्ग, कस्तुरी मार्ग, बागेश्वरी मार्ग र खजुरा रोड  नामका रोड नेम प्लेट राखिने नेपालगन्ज उपमहानगरपालिकाले जनाएको छ । 

नगर प्रमुख विष्टले नगरलाई डिजिटलाइज गर्ने अभियानमा लागिपरेको बताउँदै नागरिक-स्थानीय सरकारबीच सहज पहुँचका लागि घर नम्बर प्रणाली लागू गरिएको उल्लेख गरे। नगरको एकिकृत दीगो विकास र सम्बृद्धिका लागि उपमहानगरपालिकाले थुप्रै योजना अघि सारेको भन्दै विष्टले प्रविधिको उच्चतम् प्रयोग गरेर अघि बढ्ने बताउनुभयो ।

उपप्रमुख राईले यसबाट हरेक घरको जानकारी उपमहानगरपालिकालाई हुने हुँदा सहज हुने बताए। उद्घाटन कार्यक्रममा प्रवक्ता एवम् वडा नम्बर १ का वडा अध्यक्ष प्रमोद रिजाल, वडा नम्बर १२ का वडा अध्यक्ष तरुणकुमार बज्राचार्य, वडा नम्बर ८ का वडा अध्यक्ष रजनिश बाजपेई (विवेक), इन्जिनियर दास लगायत उपस्थिति थिए ।

प्रकाशित मिति: बिहीबार, पुस १२, २०८०  १८:४९
प्रतिक्रिया दिनुहोस्