भुटानी शरणार्थी नेता टेकनाथ रिजाल जेलमुक्त

बिहीबार, पुस १२, २०८०
Neuro hospital Nepalgunj

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा धरौटीको रकम बुझाउन नसकेर जेलमै रहेका भुटानी शरणार्थी नेता टेकनाथ रिजाल रिहा भएका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर पुर्पक्षका लागि जेल चलान भएका रिजाल अदालतको आदेशपछि धरौटी बुझाएर बुधबार रिहा भएका हुन् ।

उनलाई उच्च अदालत पाटनले १५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो । तर धरौटी रकम बुझाउन नसक्दा जेलमा रहेका उनी धरौटी बुझाएपछि  रिहा भएको उनका सहयोगी विश्वनाथ क्षेत्रीले जानकारी दिए । 

उक्त मुद्दामा नेता रिजाल सात महिना हिरासतमा बसेका थिए । रिहाइपछि रिजालले आफ्नो पक्षमा सहयोग गर्ने सबैलाई धन्यवाद दिए । 

धरौटीको रकम बुझाउन नसक्दा उनी आदेश आएपछि पनि झन्डै एक महिना कारागारमा रहनुपर्‍यो । गत मंसिर १५ मा उनलाई धरौटीमा रिहा गर्न आदेश भएको थियो । 

काठमाडौँ जिल्ला अदालतमा आइतबार बेलुकी धरौटी रकम बुझाएका उनलाई बिदा भएका कारण बुधबार मात्रै रिहा गरिएको हो । अब उनी पुस २० गते काठमाडौँ जिल्ला अदालतमा उपस्थित हुनुपर्नेछ । 

शरणार्थी प्रकरणमा पुर्पक्षका लागि जेल परेका पूर्व गृहमन्त्री बालकृष्ण खाँण उच्चको आदेशअनुसार जिल्ला अदालतमा ३० लाख र सम्पत्ति शुद्धीकरण विभागमा १५ लाख रुपैयाँ बुझाएर रिहा भएका छन्।

पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप, आरोपी नरेन्द्र केसी, हरिभक्त महर्जन, शमशेर मियाँ र रामशरण केसीले पनि तोकिएको रकम बुझाएर रिहा भइसकेका छन् । 

उक्त प्रकरणमा पूर्व सचिव टेकनारायण पाण्डे, पूर्वउपप्रधानमन्त्री रायमाझी, इन्द्रजीत राईलगायत भने पुर्पक्षका लागि जेलमै  छन् ।

प्रकाशित मिति: बिहीबार, पुस १२, २०८०  १०:५९
प्रतिक्रिया दिनुहोस्