मध्यपहाडी क्षेत्रको विकास र समृद्धिमा प्राथमिकता दिन सरकारसँग माग

आइतबार, पुस ८, २०८०
Neuro hospital Nepalgunj

काठमाडौँ ।  मध्यपहाडी लोकमार्ग केन्द्रित आफ्नो ‘समृद्धिका लागि सङ्कल्प यात्रा’का उपलब्धि नेकपा एमालेले सार्वजनिक गरेको छ ।

बैतडीको झुलाघाटबाट गत मंसिर १४ गते सुरु भएको उक्त यात्रा यही पुस १ गते पाँचथरको चिवाभञ्ज्याङमा पुगेर समापन भएको थियो ।

एमालेको केन्द्रीय कार्यालय च्यासलमा  पार्टीका अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा आज आयोजित पत्रकार सम्मेलनमा यात्राले पार्टी, कार्यकर्ता र स्थानीय जनतामा उत्साह देखिनुका साथै विकास, समृद्धि तथा राष्ट्रियतालाई जोड्न महत्वपूर्ण उपलब्धि हासिल गरेको जनाइएको छ। 

अध्यक्ष ओलीले उक्त यात्रा असाधारण र अविस्मरणीय भएको बताउँदै मध्यपहाडी क्षेत्रको विकास र समृद्धिमा प्राथमिकता दिन सरकारसँग माग गरे । 

‘सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय’को मर्म एवं भावनाअनुरुप उक्त अभियानका क्रममा जनसभा, जनभेला तथा भेटघाट, कलेज तथा विद्यालयका विद्यार्थीसँग छलफल भएको जनाइएको छ । 

साथै स्थानीय किसानसँग अन्तर्कृया, कृषि वैज्ञानिकसँग संवाद, विकास कार्यको अवलोकन र नमुना काम गरिरहेका उद्यमीसँग भेटघाट, ऐतिहासिक, धार्मिक र सांस्कृतिक स्थलको अवलोकन, जनताका अनुभूति, गुनासा र सुझावको सङ्कलन गरिएको एमालेले जनाएको छ ।

अभियानका क्रममा पहाडबाट भइरहेको तीव्र बसाइँसराइको पहिचान र समाधानको खोजी, सामाजिक सद्भाव र राष्ट्रिय एकताको प्रवर्द्र्धनमा सहयोग, मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटनलगायतका सम्भावना बुझ्न सहयोग मिलेको एमालेका महासचिव शंकर पोखरेलले बताए ।

उक्त यात्रामा एमालेका शीर्ष नेतृत्व, केन्द्रीय पदाधिकारी, स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय सदस्य तथा प्राविधिक टोलीको सहभागिता थियो । 

प्रकाशित मिति: आइतबार, पुस ८, २०८०  १५:३४
प्रतिक्रिया दिनुहोस्