लुम्बिनीका मुख्यमन्त्रीको एकलौटी पाराले उनकै पार्टीको संस्थापन इतर पक्ष रुष्ट

आइतबार, पुस ८, २०८०
Neuro hospital Nepalgunj

दाङ । लुम्बिनी प्रदेशका  मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले दुई मन्त्री मध्ये आफ्नै पार्टीको आफ्नै खेमाका एक मन्त्री थपेपछि उनकै पार्टी नेपाली कांग्रेस संस्थापन इतर पक्षले असन्तुष्टी पोखेको छ।

मुख्यमन्त्री चौधरीले दुई मन्त्री थप्ने क्रममा आफ्नै खेमाका एक जनालाई मन्त्री बनाएपछि संस्थापन इतर पक्षले तीव्र असन्तुष्टी जनाएको हो। मुख्यमन्त्रीले एकलौटी पाराले आफ्नै खेमाका प्युठानका रोज राणा भनेर चिनिने "सरोज थापा" लाई मन्त्री बनाएको भन्दै विरोध जनाइएको लुम्बिनी प्रदेश कांग्रेस सभापति अमरसिंह पुनले बताए ।

सभापति पुनले भने-" प्रदेशका मुख्यमन्त्रीज्युले प्रदेश कमिटीसँग कुनै छलफल नगरी पार्टीभित्र समूह, भूगोल, सिनियारिटी र कार्यक्षमताको वेवास्ता गर्दै आफ्नो खेमाको सांसदलाई मन्त्री बनाउनु भयो"। 

प्रदेश कमिटीसँग कुनै समन्वय गर्दै नगरेर मुख्यमन्त्रीले आफनै खेमालाई मात्रै हेरेर अर्को पक्षलाई अवहेलना गरेपछि संस्थापन इतर पक्ष रुष्ट भएको हो। सभापति पुन भन्छन् -" मुख्यमन्त्रीको यो चालले  सरकारले काम गर्छ भन्ने प्रश्न उब्जेको छ।"

सभापति पुनले मात्रै नभएर लुम्बिनी कांग्रेसका महामन्त्री विक्रम खनाल लगाय्त संस्थापन इतर पक्षका नेता तथा सांसदहरुले समेत मुख्यमन्त्रीको एकलौटी पाराको व्यापक विरोध गर्न सुरु गरेका छन् । 

लुम्बिनी कांग्रेसका प्रदेश सदस्य टेक नारायण भुषालले मुख्यमन्त्रीलाई यसबारेमा प्रदेश कमिटीमा जवाफ दिन लगाइने बताए।

मुख्यमन्त्री चौधरीले कांग्रेसबाट थापा र नेकपा माओवादीकी बाँकेकी कृष्णा केसी नमुनालाई शनिबार साँझ मन्त्री नियुक्त गरेका हुन् । 

हालसम्म लुम्बिनी सरकारमा मुख्यमन्त्री चौधरीले आफ्नै खेमाका दाङका राजु खनाललाई स्वास्थ्यमन्त्री बनाइसकेका छन्  । त्यस्तै उनको नेतृत्वमा  नेकपा  माओवादीका दाङकै धनबहादुर मास्की अर्थमन्त्री, जनमत पार्टीका चन्द्रकेश गुप्ता सामाजिक विकास मन्त्री, लोसपाका सन्तोषकुमार पाण्डेय गृहमन्त्री,  जनता समाजवादी पार्टी (जसपा) का बाँकेका भण्डारीलाल अहिर कृषि तथा भूमि व्यवस्था मन्त्री,  र नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरी भौतिक पुर्वाधार विकास मन्त्री भइसकेका छन् ।

चौधरी गत वैशाख १४ मुख्यमन्त्री नियुक्त भएका थिए। मुख्यमन्त्री भएयता चौधरीले गरेका धेरैजसो कार्यमा निकै विरोध हुँदै आइरहेको छ।

 

 

 

प्रकाशित मिति: आइतबार, पुस ८, २०८०  १२:०७
प्रतिक्रिया दिनुहोस्