देशभर १३ हजार बढी सञ्चार माध्यम सञ्चालनमा : मन्त्री शर्मा

बिहीबार, असार २८, २०८०

काठमाडौं । नेपालभर हाल सञ्चालनमा १३ हजार बढी  सञ्चार माध्यम रहेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिएकी छिन् । 

मन्त्रालयगत बजेटमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिदै राष्ट्रिय सभामा आज मन्त्री शर्माले दर्ता भएर १३ हजार १३९ वटा सञ्चार माध्यम सञ्चालनमा रहेको जानकारी दिएकी हुन् । 

दर्ता भएका मध्ये सबैभन्दा धेरै पत्रपत्रिका रहेको  सबैभन्दा थोरै टेलिभिजन रहेको मन्त्री शर्माले बताइन्।

मन्त्री शर्माका अनुसार देशभर पत्रपत्रिकाको संख्या  ७ हजार ९७९ रहँदा टेलिभिजन २४२ वटा सञ्चालनमा रहेका छन् । यसैगरी, ३ हजार ९९० अनलाइन पत्रिका सञ्चालनमा रहँदा ९२८ वटा एफएम रेडियो चलिरहेका मन्त्री शर्माले जानकारी दिइन् । 

उनका अनुसार गोरखापत्रबाट ३८ भाषा, रेडियो नेपालबाट २१ भाषा र नेपाल टेलिभिजनबाट ९ भाषामा समाचार सामग्री प्रकाशन तथा प्रशारण भइरहेको छ । यस्तै नयाँ अनलाइन पत्रिका पनि दर्ता हुने क्रममा रहेको मन्त्री शर्माले बताइन् ।

प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  १६:५७
प्रतिक्रिया दिनुहोस्