बाँकेको डुडुवा गाउँपालिका माताहतका कार्यालयको सिसिटिभीमार्फत निगरानी

बिहीबार, पुस ५, २०८०
Neuro hospital Nepalgunj

डुडुवा (बाँके)  । बाँकेको डुडुवा गाउँपालिकाले माताहतका कार्यालयहरुको प्रत्यक्ष निगरानी शुरु गरेको छ । गाउँपालिकाले आफ्ना ६ वटै वडा कार्यालय, ६ वटा स्वास्थ्य चौकी, र ७ वटा माध्यमिक विद्यालयलाई सिसी क्यामरामार्फत निगरानी गरिएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए ।

उनका अनुसार पालिकाले “सिसिटिभी सेन्ट्रलाइजेशन सिष्टम”मार्फत ति कार्यालयले प्रवाह गर्ने सेवाको गुणस्तरियता, गतिविधीको अवस्थाबारे जानकारी र सुरक्षाको अवस्थाको निगरानी गरिनेछ । 

डुडुवा–३ बनकट्टीस्थित पालिकाको प्रशासनिक कार्यालय भवनमा इन्टरनेटसहितको प्रविधी जडान गरि सबै कार्यालयहरुमा सिसिटिभी क्यामरा जडान गरेर पालिका अध्यक्षको कोठाबाट प्रत्यक्ष निगरानी गरिएको छ । यो प्रर्णालीले सबै कार्यालयमा इन्टरकम फोन, इन्टरनेट र सिसि क्यामरामार्फत फुटेज समेत हेर्न सकिने पालिकाका सूचना प्रविधी अधिकृत सुरेश बर्माले बताए । 

उनका अनुसार पालिकामा आइटीको सर्भरसहितको मेसिन जडान गरिएकाले सबै स्थानको निगरानी गर्न सहज भएको छ । यो प्रर्णालीले वडा कार्यालय, शिक्षा र स्वास्थ्य क्षेत्रमा सेवाग्राहीलाई प्रभावकारी सेवा प्रवाह गर्नमा मद्दत पुग्ने विश्वास लिइएको छ । 

यो प्रर्णाली लागू भइसकेपछि समयमा कार्यालय खुल्ने र बन्द हुने, सबै कर्मचारीहरु समयमा आउने, सेवग्राहीलाई समयमा सेवा दिनेलगायतको सेवाको प्रभावकारिता बढने पालिका अध्यक्ष चौधरीको भनाई छ । 

उनका अनुसार पालिकाको सबै कार्यालय तथा इकाईमा विस्तारै यो प्रर्णाली थप विस्तार गर्ने योजना रहेको छ । पालिकाको ५ नंं र ६ नंं वडा कार्यालय बाहेक सबैमा यो प्रर्णाली लागू गरिएको छ । 

प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  १५:०६
प्रतिक्रिया दिनुहोस्