मन्त्री सुदन किराँतीलाई हटाउन चौतर्फी दवाव

बिहीबार, पुस ५, २०८०
Neuro hospital Nepalgunj

काठमाडौँ । पर्यटनमन्त्री क्रिश्चियन धर्मको प्रचारकका रूपमा खडा भएका छन् । काठमाडौँमा आयोजित क्रिश्चियन महोत्सवको कार्यक्रममा किराँती प्रमुख अतिथि बनेर प्रमुख प्रचारका रूपमा प्रस्तुत भएका हुन् । 

उनले दिएको अभिव्यक्तिलाई लिएर अहिले सर्वत्र विरोध भएको छ । सामाजिक सञ्जालदेखि राजनीतिक दलका नेताहरुलेसमेत उनको अभिव्यक्तिविरुद्ध आक्रोश पोखेका छन् । 

सामाजिक सञ्जालमा क्रिश्चियन धर्मको प्रचार गरेको र उनले दिएको अभिव्यक्तिनै संविधान विरोधी भएको भन्दै विरोध गरिएको छ । उनले बुधबार एउटा कार्यक्रममा क्रिश्चियन समर्थकहरुको मञ्चमा पुुगेर उग्र भाषण गरेका थिए ।  

उनले क्रिश्चियन नमान्नेहरूलाई संविधान विरोधी र देशद्रोहीको संज्ञा दिएपछि अन्य धर्म मान्ने व्यक्तिहरुले सबैलाई जेल हाल्न आग्रह गर्दैै किराँतीको विरोध गरेका छन् । 

उनी राज्यको जिम्मेवार पदमा रहेको बिर्सेर क्रिश्चियन धर्म प्रचारकका रूपमा प्रस्तुत भएका थिए । किराँतीले यस क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पनि मुछ्ने प्रयास गरेका थिए ।

‘क्रिश्चियन धर्म प्रधानमन्त्रीलाई मन पर्छ, मलाई पनि मन पर्छ, नेपालको संविधानले सबैलाई आफ्नो धर्म मान्ने स्वतन्त्रता दिएको छ । क्रिश्चियनलाई मान्दिन भन्नेहरू संविधान विरोधी हुन् । देशद्रोही हुन् । देशद्रोहीलाई हत्कडी लगाएर जेल हाल्ने हो’, किराँतीले भनेका थिए । 

किराँतीले संसारमा सबैभन्दा बढी क्रिस्चियन धर्म मान्नेहरू नै रहेको बताउँदै नेपालमा चाहिँ उनीहरूलाई थिचोमिचो गरिएको दाबी गरे ।  

‘संसारमा ३० प्रतिशत मान्छेले क्रिश्चियन धर्म मान्छन् । संसारले मानेको धर्म हामीले नमान्ने ?’, उनले आफूलाई सम्हाल्नै नसक्ने गरी भनेका थिए । 

किराँतीले प्रधानमन्त्री प्रचण्डले समेत जिसस क्राइस्टलाई मान्ने दाबी गरे । यति मात्र होइन प्रचण्डलाई नै जिसससँग तुलना गर्न भ्याए । 

‘अहिलेको प्रधानमन्त्री प्रचण्डज्यू जिससजस्तै विद्रोही नेता हो । उहाँको सबै कुरा जिसससित मिल्छ । जिसस अहिले जन्मेको भए ठ्याक्कै प्रचण्डजस्तै हुनुहुन्थ्यो । मलाई मात्र होइन, प्रधानमन्त्रीलाई पनि जिसस एकदमै मन पर्छ रे’, उनले भनेका थिए ।

क्रिश्चियन धर्मको प्रचारमा गरेको सोही विषयलाई लिएर किराँतीलाई तत्काल पदबाट बर्खास्त गर्न प्रधानमन्त्री प्रचण्डलाई चौतर्फी दवाव परेको छ । सत्ता गठबन्धनका नेताहरूले जनताले विरोध शुरु गर्नुभन्दा पहिले नै मन्त्री किराँतीलाई पदबाट बखास्त गर्न सुझाव दिएका छन् । 

किराँतीलाई सांसद धवलशमशेर राणाले चेतावनी दिएका छन् । प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बिहीबारको बैठकमा उनले मन्त्री किरातीको विवादास्पद अभिव्यक्तिको ‘रियाक्सन’ ठूलो हुने बताएका छन् ।

समिति सदस्य एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्रीसमेत रहेका राणाले विवादास्पद अभिव्यक्तिका कारण निम्तने स्थितिको जिम्मेवार सरकार हुनुपर्ने चेतावनी दिए । 

‘यस विवादास्पद अभिव्यक्तिको रियाक्सन ठूलो हुन्छ’, उनले बैठकमा भने, ‘यसको जिम्मेवार तपाईं सरकार हुनुपर्छ ।’

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पनि तत्काल राजीनामा दिन सुझाएका छन् । उनले प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गर्दै पदीय गरिमा बिर्सेर संविधान मिच्ने काम किराँतीले गरेको भन्दै तत्काल मन्त्री पदबाट बर्खास्त गर्न आग्रह गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले पनि किराँतीलाई बर्खास्त गर्न माग गरेका छन् । ‘क्रिश्चियन धर्म नमान्ने सबै देशद्रोही हुन् भन्ने गैरजिम्मेवार अभिव्यक्ति दिने पर्यटन मन्त्री सुदन किराँतीलाई तत्काल वर्खास्त गर्नुपर्दछ’, थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यान जाओस् ।’ उनले पदमा बसेर साम्प्रदायिक विद्वेष फैलाउने किराँतीलाई कानून बमोजिम कारबाही गर्न पनि माग गरेका छन् ।

यसैगरी किराँतीको विवादास्पद अभिव्यक्तिलाई लिएर नागरिक सडकमै उत्रन थालिसकेका छन् । हाम्राकुरा।

प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  १३:४३
प्रतिक्रिया दिनुहोस्