राष्ट्रिय सभा निर्वाचनमा कुल २ हजार ४७ मतदाता

बुधबार, पुस ४, २०८०
Neuro hospital Nepalgunj

काठमाडौँ । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि  मतदाता नामावली स्वीकृत गरेको छ । उक्त निर्वाचनमा कूल दुई हजार ४७ मतदाता कायम गरिएको छ ।

राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखले मतदान गर्ने कानूनी व्यवस्था छ । उक्त व्यवस्था बमोजिम प्रदेशसभा सदस्य पाँच सय ४९ तथा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख एक हजार चार सय ९८ मतदाता रहेका छन् । 

स्वीकृत नामावलीमा प्रदेश सभा सदस्यतर्फ कूल मतदाता पाँच सय ५० मध्ये निधन भएका प्रदेशसभा सदस्य एक जनाको नाम हटाइ पाँच सय ४९ कायम गरिएको छ ।

त्यसैगरी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फको कूल मतदाता एक हजार पाँच सय छ जनामध्ये निधन भएका गाउँपालिका अध्यक्ष एक, उपाध्यक्ष एक, नगरपालिकाका उपप्रमुख एक र निलम्बनमा परेका गाउँपालिकाका अध्यक्ष एक तथा नगरपालिकाका प्रमुख चार जनाको नाम हटाइ कूल एक हजार चार सय ९८ जनाको नामावली स्वीकृत गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

निर्वाचनका लागि प्रदेश सभा सदस्यको कूल मतभार २९ हजार ९७, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा  नगरपालिकाका प्रमुख र उपप्रमुखको कूल मतभार २८ हजार चार सय ६२ गरी जम्मा ५७ हजार पाँच सय ५९ मतभार कायम गरिएको छ । 

आयोगबाट निर्धारित मतभारबमोजिम प्रदेशसभाका सदस्यको ५३ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको मतभार १९ रहेको छ ।

निर्वाचन कार्यक्रम बमोजिम यही पुस २० गते निर्वाचन अधिकृतको कार्यालयमा उक्त मतदाता नामावली प्रकाशित हुनेछ । प्रकाशित मतदाता नामावलीमा कुनै मतदाताको नाम समावेश हुन छुटेको भए समावेश गर्न, नाम समावेश भएको व्यक्तिको नाम, थर, उमेर, पद आदि विवरण सच्याउनुपर्ने भए सच्याउन तथा मतदाताको विरोधमा उजुरी दिनुपर्ने भए सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिन सकिनेछ ।

यही पुस २२ गते अन्तिम मतदाता नामावली प्रकाशन हुने निर्वाचन आयोगले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, पुस ४, २०८०  १७:५५
प्रतिक्रिया दिनुहोस्