आगामी पुस १६ बाट 'समुदायमा कांग्रेस' अभियान सुरु हुँदै

शनिबार, मंसिर ३०, २०८०
Neuro hospital Nepalgunj

काठमाडौँ । आगामी पुस १६ देखि नेपाली कांग्रेसले माघ १६ गतेसम्म वडा तहका पार्टी प्रतिनिधि परिचालन गरी ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गर्ने भएको छ । 

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको शुक्रबारको बैठकले ‘समुदायमा कांग्रेस’ अभियानका लागि केन्द्रीय कार्यसमितिबाट ७७ वटै जिल्लामा प्रतिनिधि खटाउने निर्णय गरेको छ।

कांग्रेसको नियमावलीको नियम ५(२) (क) अनुसूची ७ मा निर्दिष्ट गरिएको क्रियाशील सदस्यताको प्रमाणपत्रको ढाँचा सरल र स्पष्ट बनाउन क्रियाशील सदस्यता प्रमाणपत्र परिमार्जित गर्ने निर्णय गरेको छ । 

बैठकले जाजरकोट-रूकुम पश्चिममा भूकम्प प्रभावित जनताका लागि अस्थायी आवास निर्माणमा पार्टीका तर्फबाट विभिन्न चरणमा परिचालन भएको पार्टीका सबै तहका नेताकार्यकर्ताको योगदानको प्रशंसा गर्दै धन्यवाद ज्ञापन गरेको छ ।

बैठकले सरकारका तर्फबाट अस्थायी आवास निर्माणका लागि उपलब्ध गराएको रकम यथाशीघ्र भूकम्पप्रभावित परिवारलाई वितरण गर्न मन्त्रिपरिषद्को ध्यानाकर्षण गराएको छ ।

बैठकले पार्टीको महासमिति बैठकको मिति परिमार्जन गरी आगामी फागुन ७ देखि १० गते, ललितपुरमा गर्ने निर्णय गरेको छ । यसैगरी पार्टी केन्द्रीय कार्यसमितिको बैठक आगामी पुस १२ गते दिउँसो १ बजे केन्द्रीय कार्यालयमा हुने भएको छ ।

प्रकाशित मिति: शनिबार, मंसिर ३०, २०८०  ०८:२१
प्रतिक्रिया दिनुहोस्