बालकृष्ण खाँणको निवेदनमाथि आज सुनुवाइ हुँदै

बिहीबार, मंसिर २८, २०८०
Neuro hospital Nepalgunj

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरण मुद्दामा नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँणको सुनुवाइ आज हुँदैछ।

यसअघिको आदेशमा दुई न्यायाधीश राय बाझिएको विषयमा उच्च अदालत पाटनले मंसिर २८ गते (आज) सुनुवाइ गर्दैछ। आज न्यायाधीश कृष्णराज कोइरालाको एकल इजलासमा खाँणको सुनुवाइ हुँदैछ। न्यायाधीश कोइरालाको इजलास सकिएपछि उनी थुनामुक्त हुन्छन् वा हुँदैनन् भन्ने कौतुहलता बढेको छ । 

खाँणको हकमा ३० लाख रुपैयाँ लिएर थुनामुक्त गर्ने कि थुनामै पठाउने भन्ने विषयमा दुई न्यायाधीश बीचमा राय बाझिएपछि आज पेशी तोकिएको र आजै सुनुवाइ हुने भएपछि कौतुहलता बढेको हो। 

दुई जना न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासमा राय बाझिएको थियो। 

नक्कली शरणार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाँणले दिएको निवेदनमाथि उच्च अदालत पाटनमा आज सुनुवाइ हुने भएको छ ।

यसअघि अरुका हकमा राय मिलेको भए पनि खाँणको हकमा दुई न्यायाधीशबीच राय बाझिएकाले तेस्रो न्यायाधीशकोमा पेस हुन लागेको हो ।

कुन न्यायाधीशको इजलासमा सुनुवाइ हुन्छ भन्ने कुरा अहिले नै टुंगो लागिसकेको छैन । आज कार्यालय समय सुरु भएपछि गोला प्रक्रियाबाट मात्रै इजलास टुंगो लगाइने छ ।

आज सुनुवाइ गर्नेले यसअघिका दुई मध्ये जुन न्यायाधीशको राय समर्थन गर्छन्, त्यही आदेश कार्यान्वयन हुन्छ ।

उनीहरुको राय बाझिएपछि खाँण थुनामुक्त हुन सकेका छैनन् । उनले आफू निर्दोष भएको दाबी गर्दै आए पनि राय बाझिएपछि थुनामुक्त हुन नसकेका हुन्। 

बालकृष्ण खाँणको साथबाट बरामद भएको एउटा कागजले नै उनको सम्बन्धमा बलियो आधार पुग्ने प्रमाण भएको भन्दै न्यायाधीशबीच राय बाझिएको थियो । 

उच्च अदालत पाटनले ठगी, लिखित कीर्ते, राज्यविरुद्ध र सङ्गठित अपराध सम्बन्धी मुद्दामा काठमाडौँ जिल्ला अदालतको आदेश केही बदर र केही सदर गर्ने आदेश गरेको हो । 

अदालतले मंसिर १५ मा मुद्दामा थुनामा नेकपा एमालेका सचिव एवं पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित ९ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको थियो । 

मुद्दा संलग्न २० मध्ये ६ जनालाई फरक धरौटी रकम लिएर रिहा गर्ने र ४ जनालाई साधारण तारेखमा रिहा गर्ने आदेश भएको थियो । सार्वजनिक चासोको नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनले नेकपा एमालेका सचिव एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित ९ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । 

त्यस्तै ६ जनालाई धरौटीमा र ४ जनालाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको थियो। नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री खाँडको विषयमा भने न्यायाधीशबीच मत बाझिएपछि उनको सुनुवाइ तेस्रो न्यायाधीशको इजलाशमा पुगेको थियो । 

एमाले नेता एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, पूर्वसभासद् आङटावा शेर्पा, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, बिचौलीको भूमिकामा रहेका केशवप्रसाद दुलाल, सानु भण्डारी, सागर राई, विक्रम भन्ने गोविन्दकुमार चौधरी र सन्देश शर्मालाई मुद्दा पुर्पक्षका निम्ति थुनामै पठाउने आदेश भएको हो । 

गत असार १ गते काठमाडौँ जिल्ला अदालतबाट भएको आदेश सदर गर्दै उनीहरूलाई पुर्पक्ष थुनामै पठाइएको थियो । उच्च अदालत पाटनले मुद्दाका प्रतिवादी तत्कालीन गृहमन्त्री खाँडका स्वकीय सचिव नरेन्द्र केसीलाई १० लाख रूपैयाँ, हरिभक्त महर्जनलाई १५ लाख रूपैयाँ, हज कमिटीका अध्यक्ष शमशेर मियाँलाई १० लाख रूपैयाँ, सन्दीप रायमाझीलाई ३० लाख रूपैयाँ, भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई १५ लाख रूपैयाँ र रामशरण केसीलाई १५ लाख रूपैयाँ धरौटीमा थुनामुक्त गर्न आदेश गरेपछि उनीहरु अहिले थुनामुक्त भइसकेका छन् । 

तर रिजाल भने पैसा अभाव भएको भन्दै थुनामै रहेका छन् । भुटानी शरणार्थी नेता रिजालले रकम लिएको पुष्टि हुन नसकेको अदालतको ठहर छ । ७६ वर्षका रिजाल ज्येष्ठ नागरिक भएको, मानसिक स्वास्थ्यमासमेत समस्या देखिएको, शरणार्थी भइ नेपालमा निर्वासित जीवन बिताइरहेका कारण अन्य देशमा भागिजाने अवस्था नभएकाले उनलाई धरौटीमा छाड्न आदेश भएको उच्च अदालतले उल्लेख गरेको छ ।

‘टेकनाथ रिजाललाई १५ लाख रूपैयाँ नगद, धरौटी वा बैंक जमानत लिइ तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्नू’, आदेशमा भनिएको छ । टोपबहादुरका छोरा सन्दीपले पनि पीडितबाट रकम लिएको नदेखिएको उच्च अदालतले उल्लेख गरेको छ ।

अनुसन्धानमा संकलित सबुद प्रमाणबाट सन्दीपको कसुर संलग्नता पुष्टि हुन नसकेको भन्दै काठमाडौँ जिल्ला अदालतबाट २०८० असार १ मा भएको आदेश बदर गरिदिएको उच्च अदालतको आदेशमा उल्लेख छ । 

सन्दीपलाई नगद ३० लाख रूपैयाँ नगद, धरौटी वा बैँक जमानत लिई तारेखमा राख्न आदेश भएको थियो । 

त्यसैगरी रामशरण केसीलाई १५ लाख रूपैयाँ धरौटी बुझाएमा तारिखमा छाड्न भनिएको छ । 

केशव दुलाल र टेकनारायण पाण्डेबीचको मोबाइल म्यासेजमा मात्रै नरेन्द्र केसीको नाम उल्लेख भएकाले उनलाई थुनामा राख्नुनपर्ने उच्च अदालतको ठहर छ ।

‘नरेन्द्र केसीलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७२ बमोजिम रु १० लाख रूपैयाँ नगद, धरौटी वा बैक जमानतमा तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्नू’, आदेशमा भनिएको छ । 

हरिभक्त महर्जनलाई पनि मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६८ र ७२ बमोजिम १५ लाख रूपैयाँ नगद, धरौटी वा बैंक जमानतमा पुर्पक्ष तारेखमा छाड्न आदेश भएको छ । 

लक्ष्मी महर्जन, आशिष बुढाथोकी, टंककुमार गुरुङ र केशव तुलाधरलाई साधारण तारेखमा छाड्न आदेश भएको छ। ‘लक्ष्मी महर्जनको हकमा मिसिल संलग्न जाहेरी दर्खास्त, पीडितहरूको घटना विवरण कागज, तथा सहप्रतिवादीहरूको बयानबाट उनी कसुरमा संलग्न रहेको देखिँदैन’, अदालतले भनेको छ । 

अदालतले बुढाथोकीलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६९ बमोजिम साधारण तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्न भनेको छ । महर्जन र गुरुङलाई काठमाडौँ जिल्ला अदालतले नै धरौटीमा रिहा गर्न भनेको थियो । 

तर उनीहरू पनि अरू प्रतिवादीसँगै उच्च अदालतमा पुगेका थिए। नक्कली भुटानी शरणार्थी प्रकरणमा ठगी, कीर्ते, राज्य विरुद्धको अपराध र संगठित अपराध गरेको अभियोगमा २०८० जेठ १० गते जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले ३० जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो ।

प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८०  ११:०९
प्रतिक्रिया दिनुहोस्