सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
रौतहट । रौतहटसँग जोडिएको भारतीय सिमानाकाबाट भन्सार कार्यालय र सशस्त्र प्रहरी निरीह बनेर बसेपछि तस्करी नरोकिएको गुनासो बढ्न थालेको छ ।
भारत र नेपालको सीमा नाकामा तस्करहरुले फाइदा उठाउँदै गौर भन्सारको मुख्य नाकासहित विभिन्न नाकाबाट तस्करी गर्ने गरेको पाइएको छ। दशगजाक्षेत्र हुँदै दैनिक तस्करी भए पनि भन्सार कार्यालय र सशस्त्र प्रहरी निरीह बनेर बसेको स्थानीयको आरोप छ ।
पछिल्लो समय जिल्लाको विभिन्न सीमा नाकाको चोर बाटो हुँदै गाई गोरु, लत्ताकपडा, कस्मेटिक समान, चिनी, तेल, मल, हार्डवेयर, केराउ, सुपारी, चामल चोरी निकासी हुने गरेको गुनासो छ ।
लक्ष्मीपुर बेलबिछवा, महादेव पट्टी, टिकुलिया बाध, लालबकैया, बन्जरहा, औरैया, मठिया, डुमरिया परोहा, राजपुर, बन्कुल र नरकटिया भएर तस्करहरूले विभिन्न सामग्रीको तस्करी गरी भारतबाट नेपाल र नेपालबाट भारत भित्र्याउने गरेको सिमामा बस्नेहरुले बताएका छन् ।
रौतहटको राजपुरमा प्रत्येक हप्ता लाग्ने बजारमा सयौँको संख्यामा रांगाको तस्करी हुने गरेको गुनासो छ।
घरेलु रक्सी र ब्रान्डेड रक्सी तस्करी गरी लैजाने कार्यसमेत भइरहेको जानकारहरु बताउँछन् ।
सानोतिनो व्यापारीले दिउँसै मालसामान ओसारपसार गर्छ भने ठूला व्यापारीहरूले भारतबाट रातारात लत्ताकपडा, हार्डवेयर, इलेक्ट्रोनिक्स सामान, तेल, चिनी लगायतका मालसामान ओसार्ने गरेको छन् ।
भारतीय बजारको विभिन्न सामग्री बिना भन्सार रौतहटको चन्द्रपुर, कटहरिया, गरुडा पुग्ने गरेको केही व्यापारीले बताएका छन् ।