अनिवार्य अवकाश जान लागेकी नेपालगञ्जकी सिनियर स्वास्थ्यकर्मी शितला खड्काको भव्य रुपले विदाई

बुधबार, मंसिर २७, २०८०
Neuro hospital Nepalgunj

नेपालगञ्ज । अनिवार्य अवकाश हुँदै गरेकी नेपालगञ्ज उपमहानगरपालिकामा कार्यरत सिनियर अनमी निरीक्षक शितला खड्कालाई भव्य रुपले विदाई गरिएको छ ।

स्वास्थ्य महाशाखाले आज एक कार्यक्रमका बीच स्वास्थ्य महाशाखामा कार्यरत सिनियर अनमी निरीक्षक खड्कालाई सरकारी सेवाबाट अवकाश हुँदै गर्दा विदाई गरेकोे हो । 

नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखामा कुशल नर्सिङ अधिकृतको रुपमा कार्यरत खड्काले २०४३ साल असोज १२ गते मटेला स्वास्थ्य चौकी सुर्खेतबाट स्थायी सेवा शुरु गरेकी थिइन् । सरकारी सेवामा रहँदा विभिन्न जिल्लामा बसेर सेवा गरेकी खड्का एक इमान्दार, सहयोगी र कामप्रति प्रतिबद्ध स्वास्थ्यकर्मीका रुपमा परिचित छिन् । 

संघीयता पश्चात समायोजनको क्रममा २०७६ साल मंसिर १३ गतेदेखि नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखामा कार्यरत खड्काले नेपालगञ्ज उपमहानगरपालिकाको नव शिशु तथा मातृ सुरक्षा, परिवार योजना तथा महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रमको फोकल पर्सनको रुपमा काम गरेकी जनस्वास्थ्य निरीक्षक तेज वलीले बताए । 

बिदाई कार्यक्रममा बोल्दै स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले जागिर पश्चात सबैको अवकाश हुने दिन आउने भएता पनि सिनियर अनमी निरीक्षक खड्काले एक असल एवम् इमान्दार कर्मचारीको रुपमा काम गरेको उल्लेख गरे । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्काको अध्यक्षतामा आयोजित विदाई कार्यक्रममा सबै सहभागीहरुले खड्कालाई विदाई गर्दै सुखद् अवकाश जीवनको शुभकामना दिएका थिए ।

यही मंसिर २९ गतेबाट अनिवार्य अवकाश हुँदै गरेकी खड्काले आफूले जीवनमा स्वास्थ्य सेवामा रही गुणस्तरीय स्वास्थ्य सेवाका लागि सधैं इमानदारीपूर्वक निश्वार्थ सेवा गरेको बताइन्। उनले संगै काम गर्दा कोही कसैलार्इ केही चित्त दुख्ने कुरा गरेको भए पनि माफी दिन आग्रह गरिन् । खड्काले बाँकी जीवन पनि आम नागरिकको सेवामा खर्चिने बताइन् । 

प्रकाशित मिति: बुधबार, मंसिर २७, २०८०  २१:५३
प्रतिक्रिया दिनुहोस्