बाँकेमा 'शीतलहर आकस्मिक योजना'

बुधबार, मंसिर २७, २०८०
Neuro hospital Nepalgunj

नेपालगन्ज। बाँकेमा "शीतलहर आकस्मिक योजना"  २०८० स्वीकृत भएको छ। जिल्ला विपद व्यवस्थापन समिति बाँकेको आज बसेको वैठकले २१ बुँदे निर्णय  गर्दै शीतलहरबाट नागरिकलाई जोगाउन परिमार्जित "शीतलहर आकस्मिक योजना"२०८० बाँके स्वीकृत गरेको छ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलको अध्यक्षतामा आज बसेको वैठकले  यस वर्षको चिसोयाम सुरु भइसकेकोले जिल्लामा चिसो तथा शीतलहरका कारण हुन सक्ने क्षती न्यूनीकरणका लागि तयार गरिएको शीतलहर आकस्मिक योजना २०८० को मस्यौदामाथि छ्लफल गरी प्राप्त सुझाव समेत समावेश गरेर परिमार्जित शीतलहर आकस्मिक योजना बाँके २०८० स्वीकृत गरेको हो ।

आठ वटै स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत लगायत जिल्लाका सरोकारवाला उपस्थित वैठकमा स्वीकृत उक्त योजना अनुरुप आ-आफ्नो जिम्मेवारी पूरा गर्न सम्बन्धित सबै सरोकारवाला निकायहरूले तत्काल आवश्यक तयारी तथा पूर्व प्रवन्ध मिलाई कार्यान्वयन गर्ने निर्णय गरिएको छ ।  साथै सबै नगरपालिका/गाउँपालिका विपद व्यवस्थापन समिति तथा सवै विषयगत क्षेत्रले आ-आफ्नो शीततलहर पूर्व तयारी बैठक बसी आकस्मिक योजना तयार गरी लागू गर्ने निर्णय भएको हो ।

स्थानीय तहसंगको समन्वयमा जिल्ला तथा स्थानीय तहमा कार्यरत सवै संघसस्था, निजी क्षेत्र, नेपाल रेडक्रस सोसाइटीले एक आपसमा समन्वय गरी चिसो तथा शीतलहरवाट हुने क्षती न्यूनीकरणका लागि गतिविधि सञ्चालन गर्ने,  स्थानीय तहले चिसो तथा शीतलहरका कारण जोखिममा पर्न सक्ने खास गरी अति विपन्न परिवार, जेष्ठ नागरिक, वालवालिका, गर्भवती महिला, सुत्केरी महिला तथा जोखिमयुक्त र उच्च जोखिमयुक्त क्षेत्र र समुदायको पहिचान गरेर सूची तयार पार्ने र राहत वितरण प्राथमिकतामा राख्ने, चिसो तथा शीतलहर चलेको बेला चोक तथा चहलपहल हुने स्थानमा आगो बाल्न स्थानीय तहहरुले डिभिजन वन कार्यालय वा नजिकको सव डिविजन वन कार्यालय र बन उपभोक्ता समितिसंग समन्वय गरी स्थानीय सामुदायिक वनमार्फत आवश्यक दाउरा उपलव्ध गराउने, दाउरा उपलव्ध गराउँदा सहुलियत दररेटमा समेत उपलव्ध गराउन अनुरोध गर्ने निर्णय गरिएको आपतकालीन कार्यसंचालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताए ।

चिसो तथा शीतलहरको प्रभावबाट बच्न/बचाउनको लागि जिल्ला आपतकालीन कार्यसन्चालन केन्द्रले स्थानीय भाषा समेतमा जनचेतनामूलक सामग्री तयारमा सहजीकरण गर्ने तथा बाँकेमा रहेका सवै एफएम रेडियो, पत्रपत्रिका, अनलाइनमा सन्देशहरु प्रसारण/प्रकाशन गर्ने र त्यसका लागि नेपाल पत्रकार महासंघले आवश्यक समन्वय गर्ने निर्णय भएको छ ।

स्थानीय संघ/संस्था, रेडक्रस उपशाखा, स्थानीय क्लवहरूले विभिन्न समुदाय, विद्यालयहरुमा चिसो तथा शीतलहरवाट बच्ने उपाय सम्वन्धमा चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, जिल्ला प्रहरी कार्यालयले समुदाय प्रहरी साझेदारी कार्यक्रममार्फत शीतलहरबाट बच्ने/बचाउने सम्बन्धमा सचेतना अभियान सञ्चालन गर्ने, कुहिरो तथा हुस्सु लागेको समयमा संभावित सवारी दुर्घटनाको जोखिम न्यूनीकरण गर्न जिल्ला ट्राफिक कार्यालयले सचेतना अभियान सञ्चालन गर्ने लगायतका निर्णय भएको ज्ञवालीले जानकारी दिए ।

बैठकमा जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी पोखरेलले जिल्लामा विपद व्यवस्थापनको अवस्थाका बारेमा प्रस्तुतिकरण गरेका थिए । जाजरकोट भूकम्पपछि भेरी अस्पताललाई डेडिकेटेड अस्पताल तोकिएपछि फोकल पर्सनका भूमिका निभाएका स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठले उपचार व्यवस्थापनमा भएका काम र आपतकालीन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत ज्ञवालीले सबैको संयुक्त प्रयासमा राहत संकलन र व्यवस्थापनका लागि भएका कामहरुको बारेमा जानकारी गराएका थिए । 

यसैबीच जिल्ला विपद व्यवस्थापन समितिले जाजरकोट भूकम्प पश्चात प्रतिकार्यमा सहयोगी भूमिका निभाउने सरकारी निकाय, कार्यालय, संघसंस्था र व्यक्तिहरुलाई सम्मान गरेको छ । जाजरकोट भूकम्पका घाइतेको उपचार व्यवस्थापन, राहत सामग्री हस्तान्तरण लगायतका क्रियाकलापमा सहयोग पुर्याउनेहरुलाई पनि उक्त कार्यक्रममा सम्मान गरिएको हो । सहयोगीहरुलाई प्रशंसापत्र प्रदान गरिएको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर २७, २०८०  १६:५२
प्रतिक्रिया दिनुहोस्