कांग्रेस संस्थापन इतर बैठक: राष्ट्रिय सभामा नयाँ अनुहारलाई अवसर दिनुपर्नेमा जोड

बुधबार, मंसिर २७, २०८०
Neuro hospital Nepalgunj

काठमाडौँ । आसन्न राष्ट्रिय सभाको निर्वाचनमा नयाँ अनुहार र समाजमा योगदान गरेर पनि अवसर नपाएकालाई मात्र दिनुपर्नेमा जोड दिनुपर्ने नेपाली कांग्रेस संस्थापन इतर  गगन–शेखर समूहको बैठकमा सहभागी नेताहरूले आफ्नो धारणा राखेका छन् ।

आज काठमाडौंस्थित बत्तीसपुतलीको अनुपम फुडल्याण्डमा बसेको बैठकमा नेताहरुले विचार राख्ने क्रममा सो कुरा बताएका हुन् ।

नेताहरुले विचार राख्ने अधिकांशले आसन्न राष्ट्रिय सभाको निर्वाचनमा नयाँ अनुहार र समाजमा योगदान गरेर पनि अवसर नपाएकालाई मात्र दिनुपर्नेमा जोड दिएका छन् । 

नेताहरु अर्जुननरसिंह केसी, डा. सुनील शर्मा लगायतले राष्ट्रिय सभामा आफ्ना र लगातार आएकालाई नभई नयाँलाई दिनुपर्नेमा जोड दिएका हुन् । 

बोल्ने अधिकांश वक्ताहरुले यही लाइनमा बोलिरहेका छन् । उनीहरुले ‘नयाँ मानिस हुनुपर्छ। चुनाव हारेकालाई लैजानु हुँदैन । पटक पटक अवसर पाएकालाई नदिने र अवसर नै नपाएकालाई दिनुपर्छ’ भनेका छन् । 

साथै बैठकमा कांग्रेसको आसन्न महासमिति बैठकका विषयमा पनि छलफल भइरहेको छ । 

महासमिति बैठकका लागि आगामी शुक्रबार कार्यसम्पादन समितिको बैठक बस्दैछ । कार्यसम्पादनमा पनि कसरी प्रस्तुत हुने भन्नेबारेमा नेताहरु छलफलमा छन् । 

त्यसैगरी संस्थापन पक्षले फेरि पनि महासमिति बैठक सार्ने चर्चा चलिरहँदा गगन–शेखर पक्षले कुनै पनि हालतमा कुनै पनि बहानामा महासमिति सर्न नहुने बताउँदै आएका छन् । 

बैठक नसरे महासमिति बैठक आगामी पुस १६ देखि १९ गतेसम्म गोदावरीमा बस्दैछ । यसअघि भने पटक पटक बैठक सर्दै आएको थियो ।

प्रकाशित मिति: बुधबार, मंसिर २७, २०८०  १६:३१
प्रतिक्रिया दिनुहोस्