महुवाको मदिरा उत्पादनका लागि विज्ञ टोलीले गर्यो राप्तीसोनारीमा स्थलगत अनुगमन

आइतबार, मंसिर २४, २०८०
Neuro hospital Nepalgunj

नेपालगन्ज । महुवाको पेय पदार्थ (मदिरा) उत्पादनका लागि विज्ञ टोलिले बाँकेको राप्तीसोनारीमा स्थलगत अनुगमन तथा परामर्श गरेको छ । खाद्य विज्ञ उपेन्द्र राय नेतृत्वको टोलिले राप्तीसोनारी गाउँपालिका वडा नं.३ र ४ मा पुगेर समुहसँग छलफल र परामर्श गरेको उद्योग तथा पर्यटन डिभिजन कार्यालय कोहलपुरका प्रमुख दिनेश अधिकारीले जानकारी दिए ।

टोलीले स्थानीयले महुवाको पेय पदार्थ बनाउने तवरतरिकाबारे उनीहरुसँग जानकारी लिएको थियो । परम्परागतरुपमा उनीहरुले मौवाको मदिरा उत्पादन गर्दै विक्रीवितरण गर्दै आएका छन् ।

लुम्विनी प्रदेश सरकारले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा विभिन्न जातिको लोकल पेय पदार्थको उत्पादन, बजारीकरण, तालिम, टेस्टिङ, पूर्वाधार निर्माणका लागि बजेट नै विनियोजन गरेको छ । त्यही भएर पर्यटन डिभिजन कार्यालयले विज्ञलाई बोलाएर त्यसको सम्भावना र दीर्घकालिनताका सवालमा परामर्श गरेको प्रमुख अधिकारीले बताए ।

प्रदेश सरकारकै नीति तथा कार्यक्रम भएकाले महुवाको उत्पादनलाई व्यवसायिक गराउने प्रयास स्वरुप स्थानीयबासीसँग छलफल गरिएको छ उनले भने–‘पहिलो चरणमा सम्भाव्यता अध्ययनसहित परामर्श गरिएको छ । 

अव यसलाई कसरी कार्यान्वयनमा लैजान सकिन्छ भन्नेबारेमा स्थानीय सरकारसँग पनि समन्वय गरेर अघि बढिन्छ ।’ राप्तीसोनारी गाउँपालिकाको विशेष गरी वडा नं.३ र ४ का जंगलमा महुवाको प्रचूर सम्भावना रहेकोले त्यस्लाई प्रशोधन गरेर व्यवस्थितरुपमा महुवाको मदिरा उत्पादन गर्न सकियो भने स्थानीयको आयआर्जनमा पनि टेवा पुग्ने र पालिकाको पहिचान पनि हुने भएकाले स्थानीय सरकारले सहयोग गर्ने पालिका अध्यक्ष तप्तबहादुर पौडेलले बताए । 

उनले पालिकाले स्थानीय उत्पादनलाई प्राथमिकता दिएर काम गरिरहेको पनि उल्लेख गरे । 

यस्तै पालिकाका निवर्तमान अध्यक्ष लाहुराम थारुले महुवाको उत्पादनलाई व्यवस्थित गराउनका लागि समुहगतरुपमा लैजानु पर्नेमा जोड दिए । उनले महुवाको उत्पादनलाई व्यवसायिक बनाउने हो भने थारु समुदायका महिलाहरुको आयआर्जनमा ठूलो सहयोग मिल्ने धारणा पनि व्यक्त गरेका छन् ।

निवर्तमान अध्यक्ष थारुले महुवाको उत्पादनलाई ब्रान्डिङ गर्ने अभियानमा आफु रहेको पनि सुनाए। त्यसक्रममा स्थानीय महिलाहरुले परम्परागतरुपमा महुवाको मदिरा कसरी उत्पादन गरिरहेका छन् ? बजारीकरणको अवस्था, उनीहरुको आवश्यकता के छ ? लगायतका बारेमा स्थानीयबासीसँग विज्ञ टोलिले जानकारी लिएको थियो । 

महुवाको उत्पादनलाई ब्रान्डिङ गर्नका निम्त्ति एक्ला एक्लै यसको उत्पादन गरिनु भन्दा पनि समुहमा गर्न सकियो भने प्रभावकारी हुने विज्ञ टोलिको भनाइ थियो । टोलिमा गाउँपालिकाका उपाध्यक्ष मनिषा थारु, उद्योग तथा पर्यटन डिभिजन कार्यालयका इन्जिनियर राजकुमार निरौला, अधिकृत टंक खनाललगायतको सहभागिता रहेको थियो ।

लुम्विनी प्रदेश सरकारले महुवा लगायत फलफुलबाट मदिरा उत्पादन गर्न चालू आर्थिक वर्षमा एक करोड ५० लाख बजेट विनियोजन गरेको छ ।

प्रकाशित मिति: आइतबार, मंसिर २४, २०८०  १०:३३
प्रतिक्रिया दिनुहोस्