नेपालगन्जमा गैरकानुनी रुपमा गुडेका १३२ इ-रिक्सा नियन्त्रणमा

मंगलबार, मंसिर १९, २०८०
Neuro hospital Nepalgunj

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले गैरकानुनीरुपमा गुडिरहेका इ-रिक्सामाथि कडाई गरेको छ । यातायात कार्यालयमा सवारी बोक्ने प्रयोजनका लागि दर्ता नै नगरी आफूखुसी गुडिरहेका रातो नम्बर प्लेटका इ-रिक्सामाथि कडाई गरिएको हो। 

आज करिब डेढ सय इ-रिक्सालाई चल्न नदिएर 'होल्ड' (नियन्त्रण) गरिएको छ ।

नीति नियम र प्रक्रिया विपरीत गुडिरहेका रातो नम्बर प्लेटका ९३ वटा यात्रुबहाक इरिक्सालाई जिल्ला प्रशासन कार्यालय बाँके र ३९ वटा इ-रिक्सालाई नेपाल प्रहरी विधि विज्ञान प्रयोगशालामा 'होल्ड' गरेर राखिएको नगर प्रहरी प्रमुख सूर्यबहादुर बोगटीले जानकारी दिए । 'यातायात कार्यालयबाट कालो नम्बर प्लेट नबनाउँदासम्म ती इ-रिक्सालाई गुड्न दिइने छैन, नगर प्रमुख प्रशान्त विष्टले भने-'यातायातमा प्रक्रिया पुर्याएर आएपछि यहाँ (नेपालगन्ज उपमहानगरपालिका) मा सूचीकृत हुनुपर्दछ, नत्र हामी चल्न दिदैनौं ।'

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख गोपीकृष्ण सुवेदीले आज १३२ वटा इ-रिक्सा 'होल्ड' गरिएको जानकारी दिए । जिल्ला प्रशासन कार्यालय, यातायात कार्यालय, ट्राफिक प्रहरी, इ-रिक्सा कम्पनी लगायत सरोकारवाला वीचको 'निरन्तर छलफल र वैठकु पछि इ-रिक्सा 'होल्ड' गर्न सुरु गरिएको हो ।

 नेपालगन्ज उपमहानगरपालिकाले इ-रिक्सा संचालक र चालकलाई सचेत बनाउँदै आएको थियो । पछिल्लोपटक पनि सार्वजनिक सूचना जारी गर्दै रातो नम्बर प्लेटलाई कालो बनाउन आह्वान गरिएको थियो।

नेपालगन्ज सहरमा आवश्यकता भन्दा बढी इ-रिक्सा जथाभावी चल्न थालेपछि ट्राफिक अस्तब्यस्तता बढेको छ । दुर्घटना पनि बढ्दो छ । यो समस्यालाई मध्यनजर गर्दै नेपालगन्ज उपमहानगरपालिकाले गैरकानुनीरुपमा चलेका इ-रिक्सामाथि निगरानी बढाएको जनाएको छ । करिव ४ हजार इ-रिक्सा गुडे पुग्ने अनुमान गरिएको नेपालगन्जमा करिव १० हजार इ-रिक्सा गुडेका छन् । 

हालसम्म नेपालगन्ज उपमहानगरपालिकामा २८०० इ-रिक्सा मात्र सूचीकृत भएको राजश्व शाखा प्रमुख विरबहादुर थापाले बताए । 

प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०  १८:५७
प्रतिक्रिया दिनुहोस्