स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन प्रणालीबारे प्रशिक्षण

मंगलबार, मंसिर १९, २०८०
Neuro hospital Nepalgunj

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) को उद्देश्य, विधि र प्रणालीबारे प्रशिक्षण दिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको आयोजनामा भएको दुई दिने प्रशिक्षण कार्यक्रममा पहिलो दिन कर्मचारी र दोस्रो दिन जनप्रतिनिधिलाई अनुशिक्षण गरिएको नेपालगञ्ज उपमहानगरपालिकाका लिजा फोकल पर्सन प्रविन रानाले बताए ।

प्रदेश सुशासन केन्द्रको सहजीकरणमा आयोजित प्रशिक्षण कार्यक्रममा केन्द्रका क्षमता विकास विज्ञ बलराम शर्माले सहजीकरण गरेका थिए । शर्माले डकुमेन्टेशन राम्रोसंग नगर्दा लिजामा अपेक्षित सुधार हुन नसकिरहेको बताए। सुशासन प्रबद्र्धन र नागरिकमैत्री सेवा प्रवाहमा लिजाको महत्वपूर्ण भूमिका हुने भन्दै शर्माले कर्मचारी र जनप्रतिनिधि प्रतिबद्ध बन्नुपर्नेमा जोड दिए ।

नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले लिजामा व्यापक सुधार गर्नुपर्ने देखिएको भन्दै जनप्रतिनिधि र कर्मचारीले यसमा तत्परता र प्रतिबद्धता देखाउनुपर्ने बताए । उनले डकुमेन्टेशनमा ध्यान केन्द्रित गर्न आवश्यक रहेको बताए । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्काले प्रशिक्षण  कार्यक्रम पश्चात् डकुमेन्टेशनको काम चुस्त दुरुस्त हुने विश्वास व्यक्त गरे । प्रशिक्षण कार्यक्रममा वडा अध्यक्ष, कार्यपालिका सदस्य र शाखा प्रमुखहरुको सहभागिता थियो ।

नेपालगञ्ज उपमहानगरपालिकाले लिजामा क्रमिक सुधार गरिरहेको देखिएको छ । आर्थिक बर्ष २०७६-७७ मा ४५.५ अंक हासिल भएकोमा २०७७-७८ मा ४८.५ र गत आर्थिक बर्षमा ५२ अंक हासिल भएको फोकल पर्सन रानाले जानकारी दिए ।

हरेक बर्ष सरकारी निकायले आफ्नो स्वमूल्यांकन गर्नुपर्ने प्रावधान अनुरुल १०० अंकभारमा १०० सूचकका आधारमा मूल्यांकन गर्ने गर्दछन् । 

प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०  १६:४५
प्रतिक्रिया दिनुहोस्