मुगुम र रारा क्षेत्रमा हिमपात

सोमबार, मंसिर १८, २०८०
Neuro hospital Nepalgunj

मुगु । पश्चिमी हिमाली जिल्ला मुगुका विभिन्न उच्च स्थानहरूमा यो वर्ष कै शुरुवाती हिमपात हुन थालेको छ । 

आइतबार रातिबाट बदली हुँदै गएपनी सोमबार बिहानै देखि उच्च भूभागमा हिउँ र बेसीमा पानी पर्न शुरु गरेको हो ।

मुगुम कार्मारोङ्ग गाउँपालिकामा पर्ने यार्सा पाटनहरू , कोइकी हिमाल मुगु र डोल्फु क्षेत्रमा हिमपात शुरु भएको डोल्फु गाउँका नेग्मा सेराव लामाले जानकारी गराए ।

नेपाल कै प्रमुख पर्यटकीय क्षेत्र रारा र मुर्माटपमा पनि बिहानै देखि हिउँ पर्न शुरु भएको र चिसो असाध्यै बढेको छ । 

रारा घुम्न आएका पर्यटनहरू हिमपात र पानीले हवाई र स्थल मार्ग बन्द हुन सक्ने भन्दै बिहानै राराबाट घर तर्फ जान तरखर गरेको रारा राष्ट्रिय निकुञ्जका रेन्जर हिमाली खत्रीले बताए ।

जिल्ला अन्य क्षेत्र बुलबुले , सात ताल , दुधताल , चन्खेली , बाम , रिणिमोक्क्ष , खेस्मालिका , सोरुकोट मा पनि हिउँ पर्न सुरु गरेको खबर प्राप्त भएका छन् ।

सदरमुकाम गमगढिमा पानी पर्न शुरु गरेको छ । बढी पानी र हिउँ परेर सडक अवरुद्ध भई दैनिक उपभोग्य वस्तु र निर्माण सामग्री अभाव हुन्छ कि भन्ने व्यापारीहरूमा पिरलो शुरु भएको मुगु उद्योग वाणिज्य सङ्घका अध्यक्ष कमल बुढा बताए ।

पानी र हिमपात हुन थालेपछि हिउँदे बाली गहुँ , जौ र नाफल खेती राम्रो हुने अनि हिमाल यार्सा , जडीबुटीहरू पनि वृद्धि ,  गुणस्तरको हुने भन्दै कृषक , जडीबुटी व्यापारीहरू खुसी भएका छन्।

प्रकाशित मिति: सोमबार, मंसिर १८, २०८०  ११:२६
प्रतिक्रिया दिनुहोस्