बिरामीलाई स्तरीय सेवा दिदै बाँकेको राप्तीसोनारी अस्पताल

आइतबार, मंसिर १७, २०८०
Neuro hospital Nepalgunj

राप्तीसोनारी ( बाँके )। पार्वती कुमारी थारुलाई शरीर चिलाउने समस्या छ । उनलाई प्रेसर पनि छ। राप्तीसोनारी गाउँपालिका–४ बैजापुरस्थित राप्तीसोनारी अस्पतालमा उपचारका लागि पुगेकी स्थानीय ४१ वर्षीया पार्वतीलाई घरछेउमै अस्पताल हुँदा सहज भएको अनुभूति सुनाउँदै भनिन्–‘राप्तीसोनारी अस्पताल नभएको भए सायद चेकजाँचका लागि कोहलपुर की नेपालगन्ज जानु पर्ने थियो ।’

घरछेउछाउमा अस्पताल हुँदाको सहजता मीना थारुलाई पनि छ । तल्लो पेट दुख्ने र महिनावरी गडबडी समेत हुने समस्या झेल्दै आएकी उनी स्वास्थ्य परामर्शसँगै उपचार गर्न राप्तीसोनारी अस्पतालमा पुगिन् । ‘अस्पतालमा डाक्टरनै बस्ने भएकाले धेरै सहज भएको छ उनले भनिन्–‘समस्याबारे डाक्टरसँग परामर्श लिन्छु यहींको उपचारले ठिक भइहाले राम्रो भइहाल्यो । यदी डाकटर सावले नेपालगन्ज जानु पर्छ भने उत्तै (नेपालगन्ज) जानु पर्ला ।’

पार्वती र मीनामात्र हैन पछिल्लो समय राप्तीसोनारी अस्पतालमा ओपिडी सेवा लिनेको संख्या बढ्दै गएको छ । अपतालले आफ्नो सेवा प्रवाहलाई स्तरीय बनाएसँगै सेवाप्रवाहमा गुणस्तरीता थपिएको अनुभूति स्थानीयले गर्न थालेका छन् । राप्तीसोनारी गाउँपालिका–३ रिहारडाँडाका ३१ वर्षीय सन्तोष कुमार बर्माले सामान्य समस्या हुँदा नेपालगन्ज धाउनु पर्ने बाध्यता अन्त्य भएको बताए ।

पेटको समस्या लिएर अस्पताल पुगेका उनले सामान्य रुघाखोकी, पेट दुख्ने, टाइफाइड, मौसमी ज्वरोजस्ता समस्याका लागि नेपालगन्ज जानु पर्ने अवस्था अव नरहेको सुनाए । ‘स्वास्थ्यमा सामान्य समस्या आउँदा पनि अत्तालिएर नेपालगन्ज जानु पर्ने अवस्था थियो उनले भने–‘अस्पतालका डाक्टरहरुनै बस्न थालेपछि परामर्श लिएरमात्रै निर्णय लिने गरेको छु ।’ सन्तोषको जस्तै भनाइ छ संगीता थारुको पनि ।

राप्तीसोनारी अस्पतालको सेवा प्रवाह राम्रो भएकै कारण आफु उपचारको लागि अस्पताल आएको बताइन् । उनलाई रुघाखोकी र ज्वरो आएको छ । इमरजेन्सी वार्डमा भेटिएकी उनले छिटो छरितो पनि हुने र ल्याव तथा एक्स रे सेवा समेत हुन थालेपछि धेरै सहज भएको बताइन् । ‘छिटोछरितो सेवा पाइने, नेपालगन्ज आउन जान झन्झटबाटपनि मुक्त, पैसाको समेत बचत हुने भएपछि यो भन्दा सहज हाम्रो लागि अरु के हुन सक्छ रु’ उनले भनिन् ।

राप्तीसोनारी अस्पतालमा मेडिकल अधिकृतबाट सेवा दिन थालिएपछि अस्पतालमा बिरामीको चाप बढ्दै गएको हो । हिंजोआज दैनिक ४०–५० जना बिरामीहरु बहिरङ्ग (ओपिडी) सेवा लिन आउने गरेको अस्पतालका मेडिकल अधिकृत डा।राम साहले बताए । 

उनका अनुसार सुगर, थाइरायड, टाइफाइड, ग्याष्ट्रिक, मौसमी रुघाखोकी, एलर्जी, छाला सम्वन्धी समस्या भएका बिरामीहरु आउने गरेको उनले बताए ।

‘स्वभाविकरुपमा अस्पतालमा बिरामीको चाप बढ्दै गएको छ उनले भने–‘यहाँ आउने अधिकांश बिरामीमा सुगर, थाइराइड, दम, मौसम प्रभाव समस्या देखिएका छन् ।’ अस्पतालले ओपिडी सेवा, ल्याव, एक्स रे, भिडियो एक्स रे लगायतका सेवाहरु दिँदै आएको छ । 

त्यसैगरी चौविसै घण्टा इमरजेन्सी र डेलिभरी सेवा समेत प्रवाह गर्दै आएको उनले बताए । अस्पतालले दुईवटा ओपिडी सेवा दिने गरेको छ। पाँच वर्ष मुनिका बालबालिकालाई लक्षित गरेर एउटा र अर्को पाँच वर्षमाथिका सवै उमेर समूहलाई लक्षित गरेर ओपिडी सेवा दिने गरिएको डा. साहले बताए ।

उनका अनुसार अस्पतालसँग आफ्नै एम्वुलेन्स छ। जटिल खालका बिरामीलाई रिफर गर्ने गरिएको छ । अस्पताल प्रमुख समेत रहेका डा।साहले अस्पतालको सेवालाई थप स्तरीय बनाउने गरी काम भइरहेको सुनाए । अस्पतालले तत्काल आँखा जाँच सेवा समेत संचालन गर्ने तयारी गरेको छ । तिलगंगा आँखा अस्पतालसँगको सहकार्यमा आगामी महिनाभित्रै देखि आँखा उपचार सेवालाई समेत अगाडि बढाउने तयारीमा अस्पताल रहेको उनको भनाइ छ । उनले अस्पतालले आफ्नै फार्मेसी सेवा समेत सन्चलानको तयारी गरेको छ ।

चालू आर्थिक वर्षको हालसम्म ६ हजार बिरामीलाई सेवा दिइएको उनको भनाइ छ । दुई जना मेडिकल अधिकृत, स्टाफ नर्स, अनमीसहित अस्पतालसँग २५ जना जनशक्ति छन् । ‘बिरामीको चापको आधारमा अहिलेलाई जनशक्ति पर्याप्त छ उनले भने–‘सेवाहरु थप विस्तार हुँदै गएपछि जनशक्ति थप्नु पर्ने अवस्था आउन सक्छ ।’ राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले अस्पतालको स्तरबृद्धिका लागि पालिकाले पहल गर्दै आएको बताए ।

राप्तीसोनारीका स्थानीयबासीको स्वास्थ्यमा सहज पहुँच स्थापित गर्नका निमित्त पालिका हरसम्भव प्रयास गर्दै आएको उनको भनाइ छ । पालिकाका अन्य वडामा रहेका स्वास्थ्य संस्थालाई समेत स्तरीय बनाउने योजनाका साथ पालिका लागि परेको  अध्यक्ष पौडेलको भनाइ छ।

प्रकाशित मिति: आइतबार, मंसिर १७, २०८०  १२:०४
प्रतिक्रिया दिनुहोस्