दुईवटा मोटरसाइकल ठोक्किँए, उछिट्टिएर खसेका एक जनाको बसले किचेर मृत्यु

आइतबार, मंसिर १७, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । सर्लाहीमा मोटरसाइकलबाट उछिट्टिएर खसेका एकजनालाई बसले किचेर मृत्यु भएको छ।

जिल्लाको पूर्वपश्चिम राजमार्ग अन्तर्गत  बागमती नगरपालिका वडा नम्बर ४ स्थित पुरानो चौकी नजिक दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकलबाट उछिट्टिएर खसेका एकजनाको बसले किचेर मृत्यु भएको सर्लाही प्रहरीले जानकारी दिएको छ । 

प्रहरीका अनुसार बसले किचेर अन्दाजी ३५ वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको थियो। उनको अझै  पहिचान खुल्न सकेको छैन ।

शनिबार साँझ ७ बजे  प्र २ ०३ ००६ प ६७ नम्बरको मोटरसाइकल र बा २ ब ५७६६ नम्बरको मोटरसाइकल ठोक्किएका थिए । ठक्करबाट  प्र २ ०३ ००६ प ६७ नम्बरको मोटरसाइकलबाट लडेका व्यक्तिलाई मलंगवाबाट काठमाडौं तर्फ आउँदै गरेको ना ७ ख १८३६ नम्बरको बसले किचेर घटनास्थलमै मृत्यु भएको सर्लाही प्रहरीले जनाएको छ।

ठक्करपछि मोटरसाइकल चालक फरार भएकाले  मृतकको पहिचान हुन नसकेको प्रहरीले जानकारी दिएको छ। प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति: आइतबार, मंसिर १७, २०८०  १०:३९
प्रतिक्रिया दिनुहोस्