कांग्रेस कोहलपुर नगर उपसभापति चुन्नका लागि आज मतदान

सोमबार, मंसिर ११, २०८०
Neuro hospital Nepalgunj

नेपालगन्ज । नेपाली काँग्रेस कोहलपुर नगर उपसभापति पदका लागि आज मतदान हुँदैछ । उपसभापति सुशिल सापकोटाले राजिनामा दिएर विदेश गएपछि उक्त पद रिक्त थियो ।

नेपाली काँग्रेस कोहलपुर नगर सभापति वीरेन्द्र कुमार शाहले रिक्त पदपूर्तिका लागि निर्वाचन हुन लागेको जानकारी दिए ।  उपसभापति पदमा तीन जनाको उम्मेदवारी परेको छ ।

ऋषिराज सापकोटा, युवक ओली र चेतकान्त भट्टराईबीच प्रतिस्पर्धा हुने भएको हो । सापकोटा जिल्ला सदस्यमा पराजित भएका थिए भने भट्टराई पनि तत्कालीन उपसभापति सुशिल सापकोटासँग पराजित भएका थिए । भट्टराई चार महिना अघि नेपाल प्रेस युनियन बाँकेको १२ औं अधिवेशनमा पनि अध्यक्ष पदमा पराजित भएका थिए । ओली भने पहिलो पटक पदाधिकारीमा भिड्न लागेका हुन् ।

निर्वाचन अधिकृत चुडामणि ढकालका अनुसार सापकोटाले दोर्णबहादुर जैशीको प्रस्तावक र गणेश बहादुर थापाको समर्थकमा उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी ओलीले रामगोपाल तमौलीको प्रस्तावक र बेगबहादुर ओलीको समर्थकमा उम्मेदवारी दर्ता गराए । भट्टराईले भने विश्वराज भण्डारीको प्रस्तावक र गौरव रावलको समर्थकमा उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत ढकालले बताए । उपसभापति चुन्नका लागि ३२१ जनाले मतदान गर्नेछन् । कोहलपुर नगरपालिकाका १५ वडाका क्षेत्रीय प्रतिनिधिहरुले मत हाल्ने छन् ।

कोहलपुर नगरपालिका वडा नं. १, १२ र १३ मा १७–१७ जना, वडा नं.२ र ६ मा २०–२०, वडा नं.३, ४, ५, ९ र १५ मा १९–१९ जना, वडा नं.७ र १४ मा १८–१८ जना, वडा नं.११ मा २९, वडा नं.८ मा ३१ र वडा नं.१० मा ३९ जना मतदाता छन् । मतदान आज सोमवार विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म पार्टी कार्यालयमा चल्ने पनि निर्वाचन अधिकृत ढकालले बताए ।

यसैबीच नेपाली काँग्रेस बाँके क्षेत्र नं.१ प्रदेश ‘ख’ को सभापतिमा भने जागेश्वर चौधरी निर्विरोध भएका छन् । उक्त पदमा चौधरीको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध भएको निर्वाचन समितिले जनाएको छ । नेपाली काँग्रेस बाँके क्षेत्र नं.१ प्रदेश ‘ख’ का उपसभापति डा.राजकुमार सुवेदी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेपछि उक्त पद रिक्त रहेको थियो ।

प्रकाशित मिति: सोमबार, मंसिर ११, २०८०  ०७:३४
प्रतिक्रिया दिनुहोस्