टिकुलीपुरमा डिग्रे मेला सुरु

आइतबार, मंसिर १०, २०८०
Neuro hospital Nepalgunj

राप्तीसोनारी (बाँके )। आजदेखि बाँकेको राप्तीसोनारी गाउँपालिकामा डिग्रे मेला सुरु भएको छ।

गाउँपलिकाको वडा नं २ स्थित टिकुलीपुरमा आजदेखि  ३ दिने डिग्रे मेला सुरु भएको छ । सिद्धसाइकुमारी मन्दिर व्यवस्थापन समितिको आयोजनामा संचालन गरिएको मेलाको राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेलले उद्घाटन गरेका हुन । 

अध्यक्ष पौडेलले राप्तीसोनारी गाउँपालिकाले कला र संस्कृतिको संरक्षणका निम्ति विविध कार्यक्रम गर्दै आएको बताउँदै मौलिक कला र संस्कृतिको संरक्षणमा कटिबद्ध भएको बताए । कार्यक्रम बोल्दै अध्यक्ष पौडेलले राप्तीसोनारी गाउँपालिका कला र संस्कृतिको धनी भएको तर पहिचान हुन नसकेकोले स्थानीय कला र संस्कृतिको प्रचारप्रसार गर्न आवश्यक रहेको बताए ।

त्यस्तै गाउँपालिकाकी उपाध्यक्ष मनिषा सिँह थारुले राप्तीसोनारीको अर्को पहिचान कला र संस्कृति भएको बताइन । उनले राप्तीसोनारी गाउँपलिका भित्र रहेका पौराणिक तथा मौलिक कला संस्कृतिको संरक्षणमा सबै जुट्नुपर्ने बताइन। 

राप्तीसोनारी गाउँपालिका वडा नं. ८ का वडाध्यक्ष सालिकराम डाँगीले रुकुमेलीको पहिचान बोकेको डिग्रे मेलाको आफ्नै पहिचान भएको बताउँदै मेलालाई सभ्य र भव्य  रुपमा सम्पन्न गर्न सबैले सहयोग गर्नुपर्ने बताए।

मेलाको उद्घाटनमा कलश यात्रा,विविध झाँकी,महिला पन्चैबाजा र स्कुलहरुको मार्च पास तेक्वान्दो डोजाङहरुको प्रस्तुति ,सोरठी,पैसरी नृत्य प्रस्तुत गरिएको थियोे । 

मंसिर १२ गते सम्म संचालन हुने मेलामा यस वर्ष विशेष गरी स्थानीय कला संस्कृतिलाई संरक्षण र प्रवर्द्धन गरिने खालका झाँकी,तथा स्थानीय क्लब भैली समुह ,आमा समुह,विद्यालय स्तरको नृत्य प्रतियोगिता संचालन गरिने आयोजकले जनाएको छ ।

यसपटक विशेष गरी स्थानीय कला र संस्कृतिलाई महत्त्व दिइने मेलामा राष्ट्रिय कलाकारहरुको पनि प्रस्तुति रहने भएको छ। मेलामा भलिबल ,मयुरनाच,सिगाँरु नाच,ब्याटमिन्ट्न, कुर्सीदौड,तानडारी,एकल नृत्य प्रतियोगीता संचालन गरिने आयोजकले जनाएको छ ।

मेला आयोजक समितिका संयोजक कमारो केसीको सभापतित्वमा सप्पन्न उदघाटन कार्यक्रममा समितिका सचिव बहादुर केसीले स्वागत मन्तव्य राखेका थिए । 

प्रकाशित मिति: आइतबार, मंसिर १०, २०८०  २१:२९
प्रतिक्रिया दिनुहोस्