राप्तीसोनारीको माथेवास-धामपुर जोड्ने राप्ती पुलको उद्घाटन, 'बिकास निर्माणमा सहयोग गर्छु'

आइतबार, मंसिर १०, २०८०
Neuro hospital Nepalgunj

राप्तीसोनारी ( बाँके )।  राप्तीसोनारी गाउँपालिकाको समस्या समाधानका लागि आफ्नो तहमा पहल गरिने भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले बताएका छन् । राप्तीसोनारी गाउँपालिकाको माथेवास-धामपुर जोड्ने ५५४.४५ मिटर लामो राप्ती नदी पुलको शनिवार उद्घाटन गर्दै मन्त्री ज्वालाले देशको सबैभन्दा धेरै जनसंख्या र ठूलो भुगोल भएको गाउँपालिका भएपनि विकासको मूल प्रवाहमा राप्तीसोनारी पिछडिएको भन्दै आफ्नो तहबाट यसको उत्थानका लागि पहल गरिने विश्वास दिलाए । 

‘यहाँका स्थानीय जनप्रतिनिधि, प्रदेश र संघीय जनप्रतिनिधिहरुले यहाँको समस्याबारे ध्यानाकर्षण गराउनु भएको छ उनले भने–‘मेरो तहबाट समस्या समाधानका लागि गर्नुपर्ने सहयोग सबै हुन्छ ।’ उनले राप्तीसोनारी गाउँपालिकालाई राप्तीनदीले क्षती पुर्याएपनि स्रोतको हिसावले निकै धनी रहेको औल्याए । सम्भावना भएर पनि विकास निर्माणका सवालमा पालिकामा थुप्रै कामहरु गर्न बाँकी रहेको पनि उनले बताए । 

‘यहाँ ठूलो वनजंगल छ ।अन्य प्राकृतिक स्रोतको प्रचुर सम्भावना छ । यसको सदुपयोग गरेर पालिकालाई सम्बृद्ध बनाउन सकिन्छ’ उनले भने। राप्तीसोनारी गाउँपालिकामा सल्यान र दंगालीहरुको समेत बसोबास रहेकोले आफ्नो स्वभाविक भावना जोडिएको उनले बताए । ज्वाला सल्यान निवासी हुन् । उनले सल्यानबाट प्रतिनिधि सभामा सदस्यमा चुनाव जितेका हु्न् । उनले राप्तीसोनारीसँग भावनात्मक सम्वन्ध जोडिएकाले पनि विकास निर्माणका सवालमा आफ्नो तर्फबाट हुने पहलमा कुनै कमी नहुने बताए ।

यस्तै बाँके क्षेत्र नं.१ बाट प्रतिनिधिसभामा निर्वाचित प्रतिनिधिसभा सदस्य सूर्य ढकालले राप्तीसोनारीको विकास र सम्बृद्धिका लागि मन्त्रीको ध्यानाकर्षण गराए । उनले राप्ती नदीको कटान, सडक निर्माण लगायतका सवालमा मन्त्रीको ध्यानाकर्षण गराएका थिए। उनले अहिलेको परिस्थिति विकास निर्माणका लागि अनुकूल रहेको पनि उल्लेख गरे । ‘यो निर्वाचन क्षेत्रबाट मलाई चुनाव जिताउनु, र यो क्षेत्रसँग भावानात्मक सम्वन्ध भएका ज्वाला मन्त्री हुनु यहाँको विकास निर्माणका लागि कोशेढुंगा सावित हुनेछ’ उनले भने । उनले राप्तीसोनारी गाउँपालिका र नरैनापुर गाउँपालिकालाई राष्ट्र निर्माणको मूलधारमा ल्याउन केही योजनामा बजेट विनियोजन गर्न जरुरी रहेको पनि उनले बताए । उनले मटेहिया देखि वेतनीसम्म पुल निर्माणका लागि मन्त्रीको ध्यानाकर्षण समेत गराए । 

यस्तै लुम्विनी प्रदेश सभा सदस्य कृष्णा केसी नमूनाले पनि विकास निर्माणमा सहयोग गर्न मन्त्री ज्वालाको ध्यानाकर्षण गराइन् । हुलाकी राजमार्ग अन्तर्गत अगैयादेखि कुसुम सडक खण्डको निर्माणमा तीब्रता दिन उनले आग्रह गरिन् । बाँके राष्ट्रिय निकुञ्जका कारण वन्यजन्तुको जोखिम बढेकाले पूर्वपश्चिम राजमार्गको विकल्पमा बैकल्पिक राजमार्ग निर्माणलाई तीब्रता दिनु पर्ने उनको भनाइ थियो । उनले राप्तीनदीको सिधनिया घाटमा पुल निर्माणलाई गतिदिन आग्रह गरिन् । तत्कालीन पूर्वाधारमन्त्री मोहम्मद इस्त्यिाक राईले उक्त पुलको शिलान्यास गरेका थिए । तर अहिले उक्त पुलको निर्माण कार्य अगाडि बढ्न सकेको छैन । त्यहाँको अवस्था र आवश्यकताका आधारमा पुल निर्माण गरिनुपर्ने उनको भनाइ छ ।

 ’अहिले त्यहाँ ७ सय मिटरको पुल निर्माणको लागि डिजाइन भएको छ । तर त्यहाँ ११ सय मिटर लम्वाई भएको पुलको आवश्यकता छ उनले भनिन–’यसतर्फ मन्त्रीको ध्यानाकर्षण गराउन चाहान्छु ।’ 

यस्तै राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले भुगोल र जनसंख्याको हिसावले सबैभन्दा ठूलो गाउँपालिका भएपनि संघीय सरकारले राप्तीसोनारीलाई प्रभावकारी सहयोग नगरेको बताए । उनले विकास निर्माणका दृष्टिकोणले पालिका पिछडिएको भन्दै पुलपुलेसा र सडक निर्माणमा सहयोग गर्न आग्रह गरे । 

अध्यक्ष पौडेलले भने–‘यदी मुगुवा खोलाको पुल मात्र बन्न सक्यो भने पश्चिमका वडा नं. ८ र ९ लाई जोड्न सकिन्छ । कचनापुर कम्दी सडकलाई निर्माण गर्न सकियो भने नेपालगन्जसँगको दूरी घट्छ । यसतर्फ केन्द्र सरकारले सहयोग गरोस् ।’ उनले मुगुवा खोलामा पुल नबन्दा बर्खायाममा विद्यार्थी बालबालिकाले ठूलो सास्ती खेप्नु परेको उल्लेख गरे । यस्तै स्थानीय उत्पादनलाई समेत बजारीकरण गर्न समस्या परेको उनको भनाइ छ । उनले यातायातसँगको सहज पहुँचका हुलाकी सडक निर्माणलाई गति दिन पनि आग्रह गरे ।

प्रकाशित मिति: आइतबार, मंसिर १०, २०८०  ०७:३०
प्रतिक्रिया दिनुहोस्