एपीएफका गोपीचन्द्रले जिते नेपालगञ्ज म्याराथनको उपाधि

शनिबार, मंसिर ९, २०८०

नेपालगञ्ज । नवौं धारा नेपालगञ्ज म्याराथनको उपाधि सशस्त्र प्रहरी  बल (एपीएफ) का गोपीचन्द्र पार्कीले जितेका छन् । 

यसअघि उनले छैठौं संस्करणको उपाधि पनि जितेका थिए । उपाधिसंगै पार्कीले २ लाख नगद पुरस्कार जितेका छन् । उनले यसअघिको संस्करणका विजेता नेपाली सेनाका खडक बहादुर खड्कालाई पछि पार्दै उपाधि जितेका हुन्। 

खड्काले दोस्रो स्थानमा चित्त बुझाउँदै १ लाख पुरस्कार पाएका छन् । तेस्रो स्थान एपिएफकै किरणसिंह बोगटीले हासिल गर्दै नगद ५० हजार हात पारे ।

यस्तै म्याराथन महिलामा सन्तोषी श्रेष्ठले ह्याट्रिक गरेकी छिन् । सातौं संस्करणबाट लगातार प्रथम स्थान हासिल गरेर श्रेष्ठले महिला म्याराथनमा ह्याट्रिक गरेकी हुन् । यस्तै फूलमती राना द्वितीय र पुष्पा भण्डारी तृतीय भएका छन् ।

प्रथम भएसंगै सन्तोषीले ७५ हजार नगद हात गरेको आयोजक क्रियटिभ ह्याण्ड्सले जनाएको छ । दोस्रो भएकी रानाले ५० हजार र तेस्रो हुन सफल भण्डारीले २५ हजार नगद हात पारेका छन् ।

प्रतियोगिता क्रियटिभ ह्याण्ड्सको आयोजनामा  भएको हो । नेपाल सरकार र तत्कालीन सशस्त्र माओवादीका बीचमा मंसिर ५ गते भएको विस्तृत शान्ति सम्झौताको स्मरणमा नेपालगञ्ज म्याराथन हुँदै आएको छ ।

प्रकाशित मिति: शनिबार, मंसिर ९, २०८०  ११:४५
प्रतिक्रिया दिनुहोस्