सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
राजेन्द्र पन्थी। यसपटक योजनागत रुपमा आन्ध्र महासागरको किनारमा गएर पौडिने विचार गरियो र पौडियो पनि । संयुक्त राज्य अमेरिकाको भर्जिनिया राज्यको भर्जिनियाबिच शहरमा आन्ध्र महासागरको तट रहेको छ । भर्जिनियाबिच भनेर प्रसिद्ध त्यो ठाउँ हामी बसेको शहर भन्दा करिब चार घन्टाको सवारी यात्राको दूरीमा पर्दोरहेछ ।
भाइ रमेशको कुशलतापूर्वक ड्राइभिङबाट सबै परिवार समुद्र तटमा पुगेका थियौँ । भर्जिनिया राज्यकै सबैभन्दा ठूलो शहर भर्जिनियाबिच हो । आन्ध्र महासागरको छेउँमा रहेको यो शहर अत्यन्तै सौन्दर्यपूर्ण देखिन्थ्यो । समुद्रको किनारमा गएर हेर्दा आँखाले देख्ने भ्याउन्जेल पानी नै देखियो । पर्यटन प्रबर्धन गर्ने दृष्टिकोणले शहरलाई आकर्षण बनाइएको थियोे । धेरै तारे होटेलहरू समुद्रको छेउँमा खोलिएका रहेछन् ।
सवारी पार्किङको पनि राम्रो व्यवस्था गरिएको रहेछ । पर्यटकको हुन सक्ने सम्भावित दुर्घटना रोक्नको लागि सुरक्षाका सबै किसिमका साधन तयारी अवस्थामा थिए । त्यहाँ हरेक किसिमका सतर्कता अपनाइएको देखियो ।
महासागरका बारेमा कुरा गर्दा पृथ्वीको कुल क्षेत्रफलमा ७०.८ प्रतिशत पानी र २९.२ प्रतिशत जमीन रहेको छ । कुल पानीमा पनि ८८.९ प्रतिशत महासागर र ११.१ प्रतिशत नदीनाला र तालतलैया रहेका छन् । विश्वमा आन्ध्र, प्रशान्त, हिन्द, सुमेरु र कुमेरु गरी पाँच महासागरहरू रहेका छन् । यो आन्ध्र महासागर दोस्रो ठूलो महासागर हो । यसले पृथ्वीको करिब १–५ क्षेत्र ओगटेको छ । यसको क्षेत्रफल ८ करोड २४ लाख वर्ग किलोमिटर छ । यो महासागर युरोप, अमेरिका र अफ्रिकाको बीचमा रहेको छ ।
यस महासागरमा राइन, सेनेगल, नाइजर, कङ्गो, मिसिसिपी, अमेजन र ओरन्को जस्ता प्रमुख नदीहरू मिसिएका छन् । यो महासागर उत्तरी ध्रुवदेखि दक्षिणी ध्रुवसम्म फैलिएको छ । यही महासागरमा नै बर्मुडा त्रिकोण भन्ने रहस्यमय समुद्री क्षेत्र रहेको छ ।
हामीहरू त्यो समुद्र तटमा गएर घुम्ने, पौडिने र डुबुल्की मार्ने योजना अनुरुप घरबाट भाइ रमेश, अर्धाङ्गिनी ईन्दू, छोरी ईरा र छोरो सुकृत थियौँ । भाइ रमेशले कुशलतापूर्वक गाडी चलाएर हाम्रो यात्रालाई सफल पारेका थिए । हामी जाँदा र फर्किदा यात्राका क्रममा अमेरिकाको विकासका बारेमा गफिँदै र नेपालका सम्भावनाका बारेमा छलफल गर्दै गएका थियौँ ।
हामी त्यसबेला भौतिक रुपमा अमेरिका भए पनि आत्मिक रुपमा नेपाल नै पुगेका हुन्थौँ । रमेश धेरै वर्ष हुम्लामा बसेर विकास प्रोजेक्टमा काम गरेको हुनाले उनले नेपालको पर्यटन, जलविद्युत, फलफूल र जडिबुटीका बारेमा कर्णालीमा प्रशस्त सम्भावना रहेको र यसले नेपालको विकासको लागि महत्त्वपूर्ण योगदान दिनसक्ने भन्ने कुरा व्यक्त गरे ।
उनले अमेरिकी सौन्दर्यभन्दा कर्णालीको सौन्दर्य धेरै राम्रो र आकर्षक रहेको बताए । कर्णाली वा सुदूरपश्चिमलाई नै केन्द्र बनाएर विकासका पूर्वाधार शुरु गर्ने हो भने पनि नेपालमै सुन फल्छ भन्ने कुरा उनले दृष्टान्तसहित राखे ।
वास्तवमा अमेरिकामा पनि सबै बनाइएका त हुन् । कसैको फुमन्तरबाट स्वतःनिर्मित होइनन् । समुद्रमाथि सयौँ माइलका पुल बनेका छन् भने समुद्र मुनि सुरुङ मार्ग बनेका छन् । भीरपाखोमा सडक यातायात पुर्याइएको छ र ती व्यवस्थित पनि छन् । यात्रामा बाहिरी आँखाले सुन्दर अमेरिका देखिरहेका हुन्थे भने भित्री आँखाले नेपाल देखिरहेका हुन्थे ।
नेपालका बारेमा बारम्बार हामीहरूका बीचमा केही कुरा उब्जिन्थे र बाझिँन्थे र निष्कर्ष पनि निस्किन्थे । नेपाल सुन्दर हुँदाहुँदै पनि पछाडि पर्नुको प्रमुख कारण भनेकै नेतृत्वको अभाव हुनु नै हो भन्ने निष्कर्षमा हामी पुग्थौँ । म नेपालको नागरिक हुँ भन्दा संसारको मान्छेले ओ १ ब्युटिफुल कन्ट्रि भनेर प्रशंसा गरेका हुन्थे । तर हामी त्यो सुन्दरता भित्रको सुगन्ध र आकर्षण नबुझी भौतारिरहेका छौँ जस्तो लाग्थ्यो । नेपाल भू–बनोट, सामाजिक र सांस्कृतिक विविधता, प्राकृतिक सौन्दर्य, हावापानी, हिमाल, जलश्रोत, बुद्धभूमि आदि थुप्रै कुराले सम्पन्न छ र विश्वमा एउटा सुन्दर देश भनेर आफ्नो चिनारी दिएको छ ।
तर देशमा कुशल नेतृत्वको अभावले राजनीतिक विकृति र अराजकता फैलिदै जाँदा देशले विकासमा फड्को मार्न नसकेको मात्र देखिन्छ । संसारको सर्वशक्तिशाली र विकसित मुलुकबाट विकासोन्मुख देश अर्थात् आफ्नो जन्मभूमिलाई नियाल्दा अत्यन्तै टिठ लागेर पनि आउँछ । आफू देशभित्र रहँदा वा बाहिर रहँदा कसैले सुन्दर देश भनिदिँदा आहा १ मेरो देश भनेर गौरवान्वित र हर्षित भइन्छ र देशले दुःख पाउँदा सहानुभूति, समवेदना प्रकट हुनु पनि अन्यथा होइन जस्तो लाग्छ ।
नेपाल सार्वभौम र स्वतन्त्रताका दृष्टिकोणले विश्वको कुनै शक्तिशाली देशभन्दा पक्कै पनि सानो र कमजोर छैन । नेपालको भू–बनोट र प्राकृतिक सम्पदाले कमजोर छैन । केबल मानसिकताले कमजोर बनाइएको देखिन्छ ।
नेतृत्वले नै बारम्बार गल्ती गर्दै असक्षमता र अविवेकीपनको पराकाष्ठा रुप प्रदर्शन गरिरहेका हुन्छन् । समृद्ध नेपालको सपना देख्नै सक्दैनन् र नेपाललाई सधै गरिब मुलुक बनाइरहेका छन् । नेपालको राजनीतिक नेतृत्वमा दूरदृष्टि र स्पष्ट विचार नहुनाले नै नेपाल विकासमा पछाडि परेको देखिन्छ ।
देशमा व्यवस्था परिवर्तन हुँदा होस् वा कुनै राजनीतिक परिवर्तन हुँदा स्वनिर्णय गर्न नसक्ने अनि देशीविदेशी शक्तिको तथास्तू र आशीर्वादमा नेतृत्व चल्ने परम्पराले गर्दा पनि नेपाल धेरै कुरामा पछाडि परेको देखिन्छ । जबसम्म राजनीतिक नेतृत्वले आफ्नै माटोमा टेकेर नेपाली माटो अनुकूलको सपना देक्दैन तबसम्म नेपाल समृद्ध मुलुक बन्न सक्दैन ।
देश बाहिर रहँदा, यहाँको विकास र समृद्धिलाई नजिकबाट नियाल्दा र त्यो टाढा रहेको आफ्नो जन्मभूमिलाई सम्झदा यति धेरै कुराहरूको याद आउँछ कि त्यो शब्दमा वर्णन गर्नै सकिँदैन । त्यो यात्राको क्रममा हामी मिनेट मिनेटमा नेपाल भित्र घुमिरहेका थियौँ । कुनैबेला बुटवल, कुनै बेला पोखरा, कर्णाली, सगरमाथा, कोशी, गुल्मी, अर्घाखाँची, चितवन आदिआदि ठाउँमा पुगेका हुन्थौँ ।
नेपाली जनताको सामाजिक, आर्थिक अवस्था र देशको भौतिक विकासका बारेमा थुप्रै किसिमका कुराहरू भैरहन्थे । नेपाल प्राकृतिक रुपमा स्वर्ग नै छ । नेपाल आफैँमा स्वर्ग छ भने अमेरिका स्वर्गजस्तो बनाइएको छ । अमेरिका पनि हिजोको आज पक्कै बनेको होइन, सोच र योजनाबाट भौतिक विकास भएको हो । अमेरिका पनि सन् १४९२ अक्टोबर १२ मा क्रिष्टोफर कोलम्बसले पत्ता लगाएका हुन् भने ४ जुलाई १७७६ मा स्वतन्त्र भएको मुलुक हो ।
हाम्रो देशको कमजोरी भनेको सोच नै नहुनु हो र कार्यान्वयन तह अत्यन्तै फितलो हुनु हो । भौतिक रुपमा यी आँखाले यहाँको चामत्कारिक विकासलाई आश्चर्य मानिरहे तर यो मनले कठै १ हाम्रो नेपाल भनेर पनि भनिरहेको हुन्थ्यो । हुनत देश बाहिर बसेर बाहिरी सौन्दर्यलाई व्याख्या र वर्णन गर्दा भगौडा र विदेशी भनेर आलोचना र गाली पाइएकै छ । तर पनि राष्ट्रियता र देशप्रेमको लागि कुनै साँध र सीमाना हुँदैन भन्नेमा पनि स्पष्ट छौँ ।
अहिलेको २१ औं शताब्दीमा कुनै निश्चित भौगोलिक सीमानामा बसेर आफ्नो देशका कुरा गर्दा राष्ट्रवादी हुने र देशको सीमाना भन्दा बाहिर बसेर कुरा गर्दा अराष्ट्रवादी हुने भन्ने पक्कै हुँदैन । केही तथाकथित बौद्धिकहरूले देश छोडेर जाने अनि बारम्बार नेपाललाई गाली गर्ने भनेर पनि भनेको सुनिन्छ ।
नेपाललाई गाली गरेको होइन, तथाकथित नेता र नेतृत्वलाई मात्र गाली गरेको हो । नेपालको समस्या, पीडा र जनजीविकाको यथार्थलाई खोतलेको मात्र हो र पछाडि पर्नुका कारणहरू बताइएको हो । हो, हामीहरू नेपाली हौँ । हामीलाई कसैले विदेशी भनेर टीका लगाउँदैमा विदेशी र दोस्रो दर्जाको नागरिक हुँदैनौँ । बरु राष्ट्रियताका सवालमा कसको कति मात्रा छ भनेर नापिन्छ भने नापिन तयार छौँ र बढी भएर पनि देखिन्छौँ होला ।
भर्जिनियाबिचको आन्ध्र महासागरको तटमा डुबुल्की मार्दा र छेउँबाट समुद्रलाई हेरिरहँदा बाल्यकालीन समयमा गाईवस्तु चराउन जाँदा गुल्मी भनभनेको लामकाने फेदीमा रहेको पनाहा खोलामा पौडिएका सम्झनाहरू आए । खोला र समुद्र तुलना नै गर्न मिल्दैन ।
पनाहा खोलाको पानीमा कुनै स्वाद थिएन तर त्यहाँ सुगन्ध र आत्मीयता थियोे भने समुद्रको पानी नुनिलो थियोे र छालले हुत्याउथ्यो । त्यो खोलाको पानीमा पौडिँदा डुबिन्छ वा बगाउँछ कि भन्ने त्यति डर लाग्दैनथ्यो । तर यहाँ त पानीको छालले झुक्याएर तान्ने हो कि भन्ने भयंकर डर पो लाग्यो । तर पनि नुनिलो पानीमा डराइ डराइ बाल्यकालीन समयमा साथीभाइहरूसँगै पौडिएको घटनालाई सम्झदै केहीबेर पौडी खेलियो र डुबुल्की मारियो ।
अनि एकछिन समुद्र तटमा बालुवामाथि बसेर त्यहाँको पानीको रङ्ग, बालुवाको रङ्ग, आकर्षण दृश्य, संरचना, सुविधा, व्यवस्था, सुरक्षा, सतर्कता, समुद्रको छाल बारेमा राम्रै नजर लगाइयो र बेलुका उही बाटो पुनः उस्तै कुरा सोच्दै र कुराकानी गर्दै घर फर्कियौँ ।
नेपालमा विकासका सम्भावनाका प्रशस्त श्रोत र उपायहरू छन् । जलश्रोत, तालतलैया, जडिबुटी, खनिज, भौगोलिक विविधता, हावापानी आदिले नेपाललाई साथ दिएका छन् । यिनको मात्र पनि भरपूर उपभोग गर्ने हो भने नेपाल समृद्ध मुलुक बन्न धेरै समय लाग्दैन । नेपालमा एउटा भिजन भएको जनशक्ति पनि छ तर त्यसले अवसर पाउन नसकेको देखिन्छ ।
अबको अन्तिम विकल्प भनेको भिजन सहितको शुद्ध र सफा नेतृत्वलाई सत्ता सुम्पिनु नै देखिन्छ । गधालाई धोएर कहिल्यै गाई हुनै सक्दैन । अब आन्ध्र महासागरको तटमा जस्तै कुनै दिन कोशी र कर्णालीको तटमा र रारा अनि फेवातालमा पनि आन्तरिक र बाह्य पर्यटकहरूको भीडभाड गराउनु पर्छ । तब नेपाली जनताको सपना पूरा हुन्छ । जय राष्ट्र ( जय जन्मभूमि ) (भर्जिनिया, अमेरिका)