क्यानडाका सडकमा नेपाल बोकेर ट्रक हुइँक्याउँदा........

बिहीबार, असार २८, २०८०
Neuro hospital Nepalgunj

नरबहादुर टण्डन(एनबी)। क्यानाडामा छिट्टै पैसा कमाउन मन लाग्नेले ट्रक चलाउने पेशा रोज्छन् भनिन्छ। यो काममा परिश्रम गर्नुपर्छ जसले गर्दा कमाई पनि राम्रै हुन्छ। म काठमाडौंको क्यानेडियन कोपरेसनमा काम (१९९१-२००४) गर्दागर्दै सन् २००५ मा क्यानाडा आउने अवसर पाएँ। म एन्टिगोनिस, नोभास्कोसियाको सेन्ट फाङ्कोस जेभियर युनिभर्सिटीमा स्थानीय स्रोत व्यवस्थापन विषयमा डिप्लोमामा अध्ययनका लागि आएको थिएँ।

दाङमा जन्मिएको मैंले अरु विभिन्न काममा मन रमाउन नसकेपछि ट्रक चलाउने काम रोजें। यो कामको सवैभन्दा मजाको कुरा के भने, यसको हाकिम आफैं हुन पाइन्छ। अर्हाउनेरखटाउने कोही हुँदैन । जसले गर्दा आफ्नो हिसावले काम गर्न पाइन्छ। काममा स्वतन्त्रता हुन्छ नै, मैंले पनि अरुले जस्तै यस कामबाट मनग्य पैसा कमाउने सोच राखेका थिएँ। पैसा पनि कमाउनु नै थियो। त्यो रहर नभएर अरु अभिभावकहरुका लागि जस्तै अनिवार्य नै थियो। परिवार पाल्नु थियो, बालबच्चाहरुको लालनपालनको जिम्मेबारी थियो।

तर, मेरो चाहना भने अरु ट्रक चालकहरुको जस्तो पैसा मात्र कमाउने कुरामा मात्र सिमित थिएन। मेरो स्वभावका कारण ट्रकलाई प्रयोग गरेर कसरी मातृभूमी नेपालको हितमा लगाउन सकिन्छ भन्ने कुरा मेरो मनमा आउन थाल्यो। एकै दिनमा त नयाँ सोच आएको होइन तर, मेरो मनमा नयाँ सोच आयो, ट्रकलाई नेपालको पर्यटन प्रवर्धनमा लगाउन सकिन्छ भन्ने कुरा। सन् २०१२ यो सोच सन् २०१३ को शुरुवातदेखि कार्यान्वयनमा आयो। मैंले बुद्ध, कुमारी, सगरमाथा आदिको चित्र आफ्नो ५३ फिट लामो ट्रकमा सजाएँ र त्यसमा नेपाल भ्रमण गर्न आह्वान गर्ने सामाग्री छापें।

यो अभियान अन्तरगत आफ्नो लक्ष्यअनुसार, क्यानाडाका १० वटा प्रोभिन्सहरु र ३ वटा टेरिटोरीमा पुगें। त्यो ट्रक अमेरिकाका पनि कयौं प्रान्तहरुमा पनि पुगें। त्यो अभियानका क्रमममा मैंले नेपाली समुदायबाट स्नेह पाएँ। अन्य समुदायबाट पनि यस्तै स्नेह पाएँ। अभियानको शुरु९शुरुमा क्यानाडा र अमेरिकामा ओहोरदोहोर गर्दा सिमानामा काम गर्ने अधिकारीहरु आश्चर्य चकित भएर मलाई प्रश्न गर्थे। ट्रक रोकेको ठाउँमा आएर प्रश्न सोध्नेहरु त कति हो कति ।

तत्कालिन मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मी अमेरिका आएका थिए। त्यहाँ उनले पनि मेरो कामको प्रशंसा गरेका थिए। क्यानाडाका लागि नेपाल र अमेरिकाका तत्कालिन राजदूतहरु पनि यो अभियानमा साथ दिएका थिए। म असाध्यै धनी मानिस पनि होइन तर पनि पैसालाई मात्र महत्व दिन मलाई मन लाग्दैन। मैंले कमाएको पैसाले पर्यटनको प्रबर्धन जस्तै विभिन्न क्षेत्रमा खर्च र सहयोग गरेको छु। नेपालमा चिता बनाउनेदेखि स्यानिटरी प्याड, मास्क, स्यानिटाइजर वितरणदेखि ह्विल चेयर बाँड्नेसम्मका काममा सहयोग गरेको छु। मैंले सहयोग गरेको कामको सूचि लामै हुन्छ। तर, यि कामहरु भन्दा सबैभन्दा महत्वपूर्ण काम भने देशको समग्र हितका लागि गरेको छु। मैंले ट्रकमार्फत पर्यटनको प्रसार गर्न थालेको १० वर्ष भयो। संसारको अर्को कुनामा बसेर मातृभूमि नेपालको सेवामा दिलोज्यान दिएर लागेको पुरस्कार स्वरुप नेपाल सरकारले मलाई २०१६ देखि क्यानाडाका लागि पर्यटन दूत बनाएको छ।

म अहिले तेस्रो कार्यकालका लागि क्यानाडका लागि पर्यटन दूत छु। यो एउटा पद भन्दा पनि मेरो कामको सम्मानका लागि नेपाल सरकारले दिएको पुरस्कार जस्तो लाग्छ। मलाई के लाग्छ भने ‘हामी विदेशमा बस्नेले आफ्नो जन्मभूमिलाई सकेको योगदान दिनुपर्छ। मैंले पर्यटनका क्षेत्रमा सकेको गरिरहेको छु।’

मलाई धेरैले टण्डन ‘वन मेन आर्मी’ हो पनि भन्छन्। मलाई ठीक लागेको काम गर्न मलाई कुनै कुराले बाधा गर्दैन। देशको हितका लागि काम गरेको कारण अरु पनि सहयोगका लागि अगााडी आउन भन्ने लाग्छ। क्यानाडामा यति धेरै संघसंस्थाहरु छन् तर ति संस्थाहरुले विरलै काँध हालेका छन्। सहयोगको बाचा गर्ने व्यक्ति तथा संस्थाहरुले पनि मुख्य बेलामा धोका दिएका छन्। मलाई माया गर्नेहरुले पनि उत्तिकै छन्। उनीहरुकै साथले अघि बढिरहेको छु।

नेपाल भ्रमण वर्ष २०२० को प्रचारप्रसार गर्न २०१९ को अन्त्यतिर मैंले मिसिसागा शहरकामा १० वटा सार्वजनिक बसहरुमा पशुपति मन्दिर, सगरमाथा, लुम्बिनी, पोखरा, जीवित देवी कुमारी, खप्तड आदीका चित्र राखेर व्यक्तिगत खर्चमा प्रचार गरें। मिसिसागा र ब्राम्टनमा सांस्कृतिक मेलाहरुमा पनि लगातार सहभागिता जनाए। ति मेलाहरुमा हामीले सन् २०१६ देखि २०१९ सम्म नेपालको पर्यटनको मात्र हैन, हस्तकला आदिको पनि प्रचार गर्यौं।

क्याराब्राम र कारासागा भनिने ति महोत्सवमार्फत नेपालको राम्रै प्रचार(प्रसार भयो भन्ने मलाई लाग्छ। क्यानाडामा यहाँका एकजना संघीय सदनका सांसदको उपस्थितिमा नेपालको प्रवर्धनका लागि स्टिकर वितरणको शुरुवात पनि गरें। म जहाँ पुग्छु त्यहिँ वितरण गर्ने गरेको छु। मैंले नेपालमा गएर पर्यटन प्रवर्धनसम्बन्धी विभिन्न अन्तरक्रिया कार्यक्रमहरु पनि गरें।

त्यसबेला नेपालका सम्भावित पर्यटन गन्तव्यहरु र अन्तर्राष्ट्रिय पर्यटनमा कसरी गर्न सकिन्छ भनेर छलफल भएको थियो। ति कार्यक्रमहरु प्रदेश ७ को धनगढी, प्रदेश ६ को सुर्खेत, प्रदेश ५ को दाङमा गरिएको थियो। चितबन, लुम्बिनी प्रदेश एक चिनारी नामक पर्यटनसम्बन्धी पुस्तकहरु पनि प्रकाशन गर्यौं। आगामी दिनमा प्रदेश ५, ६ र ७ को पर्यटन रोड म्यापसम्बन्धी पुस्तक पनि प्रकाशन गर्ने योजना छ। 

प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  ०१:०६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मेरो सपना..।
बिहीबार, असार २८, २०८०

यात्रा....
बिहीबार, असार २८, २०८०