सेवा प्रवाहलाई प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन

शुक्रबार, मंसिर ८, २०८०
Neuro hospital Nepalgunj

दाङ ।  सेवा प्रवाहलाई प्रभावकारी बनाउन लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले निर्देशन दिएका छन् । 

प्रदेश सरकारका सचिवहरूसँग मुख्यमन्त्री कार्यालय देउखुरीमा भएको बैठकमा मुख्यमन्त्री चौधरीले यस्तो निर्देशन दिएका हुन् ।

मुख्यमन्त्री चौधरीले मन्त्रालय र मन्त्रालयमातहत कार्यालयको सेवा प्रवाह प्रभावकारी एवं छिटो-छरितो बनाउन आवश्यक रहेको भन्दै सोहीअनुसार गर्न निर्देशन दिए । 

उनले कार्यसम्पादनलाई प्रभावकारी बनाई उपलब्धि बढाउनसमेत आग्रह गरे । “अहिले प्रदेश सरकारको कार्यसम्पादन र उपलब्धि भनेअनुसार राम्रो हुनसकेको छैन, अब त्यो अवस्था आउन दिनु हुँदैन ”, उनले भने ।

सरकारको कामको गति सुस्त भयो, उपलब्धि बढाऊ, भएको प्रगति सार्वजनिक गरौँ । चालु आर्थिक वर्षको अहिलेसम्मको प्रगति, उपलब्धि र खर्च सन्तोषजनक नदेखिएको भन्दै मुख्यमन्त्री चौधरीले यसलाई गम्भीररूपमा लिन आग्रह गरे ।  उनले अनावश्यक योजनाभन्दा पनि आवश्यक योजना कार्यान्वयनमा चासो दिनसमेत आग्रह गरे।

मन्त्रालयको लक्ष्य र उद्देश्यमा रहेर नीति निर्माण गर्न र सोहीअनुसार काम गर्नसमेत मुख्यमन्त्री चौधरीले आग्रह गरे । त्यहीअनुसार नीति बनाउन र स्रोत परिचालन गर्नसमेत उनले निर्देशन दिए । 

त्यसैगरी योजना कार्यान्वयनका लागि अन्तर मन्त्रालय समन्वय बढाउनसमेत मुख्यमन्त्री चौधरीले निर्देशन दिएका छन् । बैठकमा प्रमुख सचिव राधिका अर्यालले निर्देशन कार्यान्वयन गर्न मन्त्रालयको कार्यासम्पादन बढाउन आग्रह गरे । उनले अबको समय पूर्णरूपमा कार्यान्वयनको भएको हुँदा त्यसमा दत्तचित्त हुनुपर्नेमा जोड दिए। 

मन्त्रालयका सचिवहरूले मन्त्रालयले योजना र बजेट कार्यान्वयनका लागि नीति, विधि बनिसकेकाले अब काममा लाग्ने प्रतिबद्धता जनाएका थिए । 

प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०८०  ०९:०५
प्रतिक्रिया दिनुहोस्