नेपालगञ्ज म्याराथन शनिबार

बिहीबार, मंसिर ७, २०८०
Neuro hospital Nepalgunj

नेपालगञ्ज । आगामी शनिबार (मंसिर ९ गते ) हुने नवौं धारा नेपालगञ्ज म्याराथनको तयारी पूरा भएको छ । नेपालगञ्जमा आज पत्रकार सम्मेलन गरेर आयोजक क्रियटिभ ह्याण्डसले तयारी पूरा भएको जनाएको हो । त्यसक्रममा रेकर्ड बनाउने धावकले लण्डन म्याराथनमा सहभागी हुन पाउने जानकारी समेत दिइएको छ।

नेपालगञ्ज म्याराथनका संस्थापक अध्यक्ष टीएस ठकुरीले गत वर्ष एशोसियसन अफ इन्टरनेशनल म्याराथन एण्ड डिस्टेन्स रेश (एम्स) बाट मान्यता पाएको र गत वर्षको रेकर्ड ब्रेक गर्ने धावकलाई लण्डन म्याराथनमा सहभागी गराइने बताए । त्यसका लागि धारा नेपालगञ्ज म्याराथन र नेपाल रन युकेबीचमा समझदारी भएको छ । 

नेपालगञ्जमा म्याराथनको पुरस्कार राशीमा पनि बृद्धि गरिएको छ । म्याराथन विजेताले दुई लाख रुपैयाँ पाउने भएका छन् । गत वर्ष एक लाख पचास हजार रुपैयाँ दिइएको थियो । दोस्रो स्थानका लागि एक लाख, तेस्रोलाई ५० हजार, चौथोलाई २५ हजार, पाँचौलाई १५ हजार, छैठौलाई १० हजार, सातौं र आठौलाई ५-५ हजार पुरस्कार राखिएको छ ।

हाफ म्याराथन (महिला)मा प्रथम हुनेले ७५ हजार पुरस्कार पाउनेछन् । दोस्रोले ५० हजार, तेस्रोले २५ हजार, चौथोले १५ हजार, पाँचौले १० हजार, छैठौं, सातौं र आठौंलाई ५र५ हजार पुरस्कार राखिएको छ । १० किलोमिटर महिला र पुरुषतर्फ शीर्ष तीन जनालाई ३० हजार, १५ हजार र १० हजार रुपैयाँ पुरस्कार राखिएको छ। स्कूलस्तरीय ५ किलोमिटर दौडमा शीर्ष तीन जनालाई ५ हजार, तीन हजार र दुई हजार दिइनेछ ।

यसमा बाँके र जिल्ला बाहिरका विद्यार्थीलाई समेटिएको छ । कक्षा ६ देखि ८ तथा ९ देखि १२ कक्षाको अलग अलग स्थान निकालिएको छ । ह्वीलचियर दौडमा पनि पुरुष तथा महिलातर्फ शीर्ष तीन जनालाई पाँच हजार, तीन हजार र दुई हजार पुरस्कार राखिएको छ । किड्स रनतर्फका विजेतालाई शैक्षिक उपहारबाट प्रोत्साहन गर्ने ठकुरीले जानकारी दिए । कर्पोरेट पाँच किलोमिटर दौडमा विजेतालाई पदक र विभिन्न आकर्षक प्याकेजबाट सम्मान गर्ने तयारी गरिएको छ । 

नेपाल सरकार र तत्कालीन सशस्त्र माओवादीका बीचमा मंसिर ५ गते भएको विस्तृत शान्ति सम्झौताको स्मरणमा नेपालगञ्ज म्याराथन हुँदै आएको छ । यसैबीच म्याराथनको अघिल्लो दिन भोलि "नेपालगञ्ज कनक्लेभ" को आयोजना गरिँदैछ । 

प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८०  २१:३१
प्रतिक्रिया दिनुहोस्