भीपीएन र डीएनएसबाट टिकटक चलाए डाटा हुन सक्छ चोरी, प्रयोग नगर्न आग्रह

बुधबार, मंसिर ६, २०८०
Neuro hospital Nepalgunj

काठमाडौँ । सरकारले प्रतिबन्ध लगाए पनि धेरै जनाको टिकटक चलिरहेको छ। सरकारले टिकटक बन्द गरे पनि टिकटक पारखीहरुले अन्य एपबाट टिकटक चलाइरहेको पाइएको छ। 

हाल धेरैजसोले टिकटक चलाउनका लागि प्रयोग गरिरहेको भीपीएन र डीएनएस अवैध तथा असुरक्षित रहेकाले त्यसको प्रयोग नगर्न प्रहरीले अनुरोध गरेको छ । यी एप्स प्रयोग गरेर चलाए झन्झट हुने अवस्था सृजना आउन सक्छ।

यसबाट प्रयोगकर्ताका गोप्य र महत्त्वपूर्ण डाटा चोरि हुनसक्ने भएकाले त्यस्ता अवैध प्रविधिको प्रयोग निरुत्साहित गर्न प्रहरीले आग्रह गरेको हो।

नेपाल सरकार मन्त्रिपरिषद्को गत कात्तिक २७ गतेको निर्णयबाट पूर्णरूपमा प्रसारणमा बन्देज लगाएको सामाजिक सञ्जाल टिकटक भीपीएन, डीएनएसजस्ता असुरक्षित र अवैध माध्यमबाट सञ्चालन भइरहेको भन्ने सूचना प्राप्त भएको उल्लेख गर्दै ब्यूरोका प्रहरी उपरीक्षक नरेन्द्र चन्दले त्यसको प्रयोग नगर्न सर्वसाधारणमा अनुरोध गरेको छ ।

ब्यूरोले भीपीएन, डीएनएसको प्रयोगले प्रयोगकर्ताको डिभाइसमा रहेका महत्तवपूर्ण डाटा, व्यक्तिगत विवरण, बैंकिङ विवरणको समेत पहुँच पुर्याई चोरी हुने र आर्थिक दुरुपयोगका घटना साइबर सुरक्षाका दृष्टिकोणले समेत बढिरहेको पाइएको जनाएको छ ।

यस्तै विद्युतीयस्वरुपमा गैरकानूनी कुरा सम्प्रेषण गर्ने, सम्प्रेषण गरिएका गलत सामग्रीले व्यक्ति तथा समाजलाई नकारात्मक प्रभाव पार्नुका साथै व्यक्तिको चरित्रहत्या गर्ने, सार्वजनिक नैतिकता, जातीय, भाषिक, धार्मिक सद्भाव खल्बल्याउनेजस्ता गतिविधि पनि भइरहेकाले यसतर्फ सचेत हुन अनुरोध गरिएको छ । 

राष्ट्रिय एकता तथा राष्ट्रहितमा प्रतिकूल असर पार्नेलगायतका दुष्प्रभाव सिर्जना गर्ने गतिविधिसमेत टिकटकका माध्यमबाट हुने गरेको पाइएको हुँदा प्रविधिको दुरुपयोग गरी यस्ता गतिविधि नगर्न र नगराउन ब्यूरोले आग्रह गरेको छ । 

प्रकाशित मिति: बुधबार, मंसिर ६, २०८०  ०८:२९
प्रतिक्रिया दिनुहोस्