खेलकुद विकास समिति बाँकेको एक बर्षे गतिविधि सार्वजनिक

बुधबार, असार २७, २०८०

नेपालगञ्ज । जिल्ला खेलकुद विकास समिति बाँकेले आफ्नो एक वर्षीय कार्यकालका गतिविधि सार्वजनिक गरेको छ ।

खेलकुद र आर्थिक विषयलाई समेटेर समिति बाँकेका अध्यक्ष सन्दिपजंग शाहले आफ्नो नेतृत्वको कार्यसमितिले गरेका गतिविधि र उपलब्धिका विषयमा जानकारी दिएका छन् । प्रदेश खेलकुद विकास परिषद लुम्बिनीको २०७९ असार १९ को निर्णय अनुसार शाहको नेतृत्वमा समिति गठन भएको थियो ।

समितिले आफ्नो कार्यकालको पहिलो आर्थिक वर्षमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको शिर्षकमा ४ लाख, नेपालगञ्ज उपमहानगरपालिकाबाट ९३ हजार ६ सय ६०, कोहलपुर नगरपालिकाबाट ५१ हजार ७ सय ९२, राप्तीसोनारी गाउँपालिकाबाट ९८ हजार ६ सय ६२ र जानकीबाट ४९ हजार १ सय ६० रुपैयाँ आम्दानी भएको जनाएको छ । त्यसैगरी संघ तथा क्लव दर्ता शुल्क वापत १६ हजार ५ सय समेत गरी जम्मा ७ लाख ९ हजार ७ सय ७४ रुपैयाँ आम्दानी गरेको छ । 

साथै समिति बाँकेले चौधौं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सञ्चालनसहितको अर्को शिर्षकमा सामाजिक डिभिजन कार्यालय मार्फत ४ लाख र ७ वटा स्थानीय तहको दर्ता शुल्कबाट १ लाख ४० हजार आम्दानी गरेको जनाएको छ । त्यस्तै कोहलपुर नगरपालिकाबाट ४९ हजार २ सय ५० रुपैयाँ थप आम्दानी भएको जनाएको छ । यसरी प्राप्त भएको रकममा पहिलो शिर्षकको बजेटमा ७ लाख ९ हजार ७ सय ७४ मध्ये ५ लाख ५६ हजार ८ सय ७ रुपैयाँ ८२ पैसा खर्च भएको जनाएको छ । दोश्रो शिर्षक अन्तरगतको जम्मा ५ लाख ८९ हजार २ सय ५० मध्ये रकम ५ लाख ५९ हजार ५ सय ३१ रुपैयाँ ५८ पैसा रकम खर्च भएको छ । समिति बाँकेको खातामा २ लाख १५ हजार ४२ रुपैयाँ ६० पैसा मौज्दात समेत रहेको जनाइएको छ ।

समितिले २०७९ असार २४ देखि २६ सम्म सम्पन्न बाह्रौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा बाँके प्रथम भएको विषयलाई उपलब्धिका रुपमा लिएको जनाएको छ । त्यसैगरी २०७९ भदौ ६ दखि २४ सम्म नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता जिल्लामा सफलतापूर्वक सम्पन्न गरेको उल्लेख छ । २०७९ असोज २ देखि १५ गतेसम्म सञ्चालन भएको नवौं राष्ट्रिय खेलकुद प्रदेश स्तरीय  प्रतियोगितामा जिल्लाले २८ स्वर्ण, ३० रजत र १५ काश्य पदकसहित ७३ मेडल प्राप्त गरेको बताइएको छ । साथै नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको २०७९ असोज २८ देखि कातिक ३ गतेसम्म सम्पन्न भएका खेलमा ५ स्वर्ण, ५ रजत र ५ काश्य पदकसहित १५ मेडल बाँके जिल्लाले हासिल गरेको उल्लेख छ ।

समिति बाँकेले उल्लेख गरे अनुसार बुटवलमा सम्पन्न तेह्रौं प्रदेश स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता बैशाख ११ देखि १३ सम्म चल्दा बाँके जिल्ला प्रथम भएको समेत यो कार्यसमितिको उपलब्धिका रुपमा समेटिएको छ ।

त्यसैगरी राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा जिल्लाबाट प्रतिनिधित्व गर्ने खेलाडीलाई सम्मान गरिएको छ । खेलाडी तथा प्रशिक्षकहरुलाई खेल मैदानमा सहज पहुँच र आगामी बर्षका लागि विभिन्न क्षेत्रबाट बजेटको ब्यवस्था गर्न पहल गरेको समेत जनाइएको छ ।

प्रकाशित मिति: बुधबार, असार २७, २०८०  २१:३८
प्रतिक्रिया दिनुहोस्