विश्वकप छनौटमा आफ्नै घरेलु मैदानमा नेपाल यमनसँग २-० गोलले पराजित

मंगलबार, मंसिर ५, २०८०
Neuro hospital Nepalgunj

काठमाडौँ । नेपाल फिफा विश्वकप – २०२६ र एएफसी एसिया कप – २०२७ को संयुक्त छनोटको दोस्रो चरणको खेलमा यमनसँग २-० गोलले पराजित भएको छ।

आज बेलुका भएको खेलमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । गत साता यूएईसँग उसकै मैदानमा ४–० ले पराजित भएको नेपाल मंगलबार घरेलु मैदानमा यमनसँग पनि निराश हुनुपर्यो । 

दशरथ रंगशालामा भएको खेलमा नेपाल यमनसँग २–० ले पराजित भयो । दुवै गोल अन्तिम ३० मिनेटमा भएका हुन् । पहिलो गोल ओमर अब्दुल्लाह अल दाहीले ७२ औँ मिनेटमा र अर्को गोल इन्जुरी समयको पहिलो मिनेटमा मोहम्मद अब्दुल्लाह अल दाहीले गोल गरेका हुन्।रंगशालामा उपस्थित १३ हजार ७३५ दर्शकको साथ पाएको भए पनि नेपालले केही अवसरलाई गोलमा परिणत गर्न सकेन । 

फिफा वरीयतामा यमन १५६औँ स्थानमा रहेको छ भने नेपाल १७३ औँ स्थानमा रहेको छ । घरेलु मैदानमा नेपालले अनुकूल परिणाम निकाल्ने अपेक्षा गरिएको भए पनि घरेलु मैदानको फाइदा उठाउन सकेन । 

विश्वकप एसिया छनोटमा नेपाल समूह एच मा रहेको छ । नेपाल रहेको समूहमा यूएई, बहराइन र यमन रहेका छन् । होम एन्ड अवेका आधारमा खेल भइरहेका हुन् । 

पहिलो खेलमा नेपाल अवे खेलमा यूएईसँग ४–० को हार बेहोरेको थियो । ३९ सालपछि नेपालले यूएईसँग खेलेको हो । त्यतिबेला नेपाल ११–० ले पराजित भएको थियो । 

पहिलो चरणमा लाओसलाई हराएर नेपाल दोस्रो चरणमा पुगेको हो । 

प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८०  २१:०९
प्रतिक्रिया दिनुहोस्