नेपालगन्जमा मोटरसाइकल चोरीको बिगबिगी, के हेर्दैछ प्रहरी ?

सोमबार, मंसिर ४, २०८०
Neuro hospital Nepalgunj

नेपालगन्ज । नेपालगन्जमा मोटरसाइकल चोरीको बिगबिगी बढ्दै गएको छ । नेपालगन्जमा दिनहुँ मोटरसाइकल चोरीका घटना बाहिर आउँदा समेत बाँके प्रहरीले कुनै चासो नदेखाएको पाइएको छ ।

बाँके प्रहरीकै उदासीनताकै कारण पछिल्लो दुई रातमा नेपालगन्जमा लगातार दुई वटा मोटरसाइकल चोरी भएका छन् । मंसिर २ गते राती नेपालगन्ज-१२ स्थित कोरियनपुरबाट स्थानीय दुर्गा शाहीको घरमा राखिएको भे १२ प ४६२० नम्बरको पल्सर मोटरसाइकल चोरी भयो। त्यसको एक दिन नबित्दै  नेपालगन्ज-१७ परसपुरबाट आज बिहान ३ बजेतिर जिबराल धोबीको घरबाटै १२५ सिसीको होण्डा साइन मोटरसाइकल चोरी भएको छ । 

शाहीको मोटरसाइकल चोरी भएको केही दिन अघिदेखि दिनहुँ मोटरसाइकल चोरी भएका घटना बाहिर आइरहेकै बेला प्रहरीको कमजोरी फाइदा उठाउँदै चोरी गर्ने गिरोहले फाइदा लिएको पाइएको छ ।

दिनैपिच्छे यसरी मोटरसाइकल घरबाटै चोरी हुँदा पीडित त चिन्तित छन्  नै, अन्य स्थानीयहरु समेत अब कसको मोटरसाइकल चोरी हुने हो भन्नेमा चिन्तित बन्दै गएको देखिएको छ ।

"मोटरसाइकल चोरी भएको बिहान जिल्ला प्रहरी कार्यालयमा गएर  निवेदन दिएर आएँ तर फेरि आज अर्को मोटरसाइकल चोरी भएको छ तर प्रहरीले केही गर्न सकेको छैन, शाहीले भने । 'निबेदन दिएर आएकै रात अर्को मोटरसाइकल चोरी हुँदा प्रहरी सुतेको भान भयो, चोरी गर्ने गिरोहले प्रहरीलाई च्यालेन्ज गर्दा समेत प्रहरी सुस्त हुँदा हामीहरुको निद्रा हराम भएको छ, शाहीले भने । निबेदन दिन जिल्ला प्रहरी पुगेका धोबीले यसरी दिनहुँ मोटरसाइकल चोरी हुँदा प्रहरी प्रशासनले के हेरेर बसेको छ भन्दै आक्रोश पोखे ।

यति मात्रै होइन, दशैं-तिहारको बिचमा समेत आधा दर्जन मोटरसाइकल घर र पार्किङ स्थलबाटै चोरी हुँदा बाँके प्रहरीले मोटरसाइकल खोजी  समेत गरेको नदेखिएको स्थानीयहरु बताउँछन् ।

जिल्ला प्रहरीमा मोटरसाइकल चोरीका घटनाबारे जानकारी आइरहे पनि प्रहरी कुनै एक्सनमा आएको देखिँदैन । यसअघि पनि प्रहरीले चोरी भएका मोटरसाइकल फेला पार्नुका साथै चोरी गर्ने गिरोहलाई पनि पक्राउ गरेको छ तर अहिले आएर यसरी दिनहुँ मोटरसाइकल चोरी हुँदा समेत प्रहरी प्रशासन मौन बसेको भन्दै पीडितले 'के हेरेको छ प्रहरी' भन्दै आक्रोश पोखेका छन् ।

प्रकाशित मिति: सोमबार, मंसिर ४, २०८०  १९:०४
प्रतिक्रिया दिनुहोस्