सशस्त्र प्रहरीद्वारा रौतहटबाट ठुलो परिमाणमा आधुनिक पेस्तोल बरामद

सोमबार, मंसिर ४, २०८०

काठमाडौँ । सशस्त्र प्रहरीले रौतहटबाट अत्याधुनिक हतियार बरामद गरेको छ । 

सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्यूरोले रौतहट यमुनामाइ नगरपालिका–३ स्थित एक घरबाट आइतबार ९ एमएम पेस्तोल तीन नाल, त्यसमा प्रयोग हुने १३ थान गोली, छ थान म्याग्जिन र एक थान एयर गन बरामद गरेको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ।

हतियार लुकाएर राखिएको भन्ने बिशेष सूचनाका आधारमा ब्यूरोले सो घरमा खानतलासी गरेको थियो ।

बरामद हतियारमध्ये २ थान पेस्तोल ‘मेड इन यूएसए’ र एक थान ‘मेड इन इन्डिया’ रहेको सशस्त्र  प्रहरीले जानकारी दिएको छ।

सशस्त्र प्रहरीका अनुसार हतियारसहित मोबाइलको सीमकार्ड, मोबाइल, शेख एजाज अहमदको नाममा जारी नागरिकता समेत बरामद भएको छ । 

सो क्षेत्रमा थप अपरेशन जारी रहेको प्रहरीको भनाइ छ । हतियार बरामदपछि स्थानीयले ढुङ्गामुढा गर्दा प्रस्तावित सीमा सुरक्षा गुल्म गौर र सुरक्षा बेस देबाहिको गाडिको सीसा फुटेको सशस्त्र प्रहरीले जनाएको छ।

प्रकाशित मिति: सोमबार, मंसिर ४, २०८०  १०:१७
प्रतिक्रिया दिनुहोस्