भारतलाई हराउँदै अष्ट्रेलियाले जित्यो विश्वकप क्रिकेटको उपाधि, सवा १ लाख भारतीय समर्थक निराश हुँदै फर्किए घर

आइतबार, मंसिर ३, २०८०
Neuro hospital Nepalgunj

काठमाडौँ । अष्ट्रेलियाले  १३औं विश्वकप क्रिकेट उपाधि जित्दै ६ पटक विश्वकप जित्ने राष्ट्र बनेको छ। आज भारतको अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा भएको फाइनलमा भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधि जितेको हो । 

योसँगै विश्वकपको सर्वाधिक सफल अष्ट्रेलियाले विश्वकपमा छैटौँ उपाधि जितेको छ । भारत भने घरेलु मैदानमा फाइनलमा निरीह देखिँदै पराजित भएको हो । भारत फाइनलअघिका सबै खेल जितेर अपराजित रहेको थियो । 

फाइनलमा २४१ रनको मध्यम चुनौती अष्ट्रेलियाले ४३ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो । 

७ ओभरमा ४७ रन जोड्दा ३ विकेट गुमाएको अष्ट्रेलियालाई ट्राभिस हेड र मार्नस लाबुस्चांगेले चौथो विकेटका लागि गरेको १९२ रनको उत्कृष्ट साझेदारीले जित दिलाएको हो । 

हेडले शानदार शतक तथा लाबुस्चांगेले अर्धशतक बनाए । हेड विश्वकपको फाइनलमा शतक बनाउने दोस्रो अष्ट्रेलियाली खेलाडी हुन् । यसअघि सन् २००३ को विश्वकपमा रिक्की पोन्टिङले शतक बनाएका थिए । हेडले १२० बलमा १३७ रन बनाए । त्यस्तै लाबुस्चांगेले अविजित रहँदै ५८ रन बनाए । 

यसअघि डेभिड वार्नर ७, मिचेल मार्श १५ तथा स्टेभेन स्मिथ ४ रन बनाएर आउट भएका थिए । 

जसप्रित बुमराहले २ तथा मोहम्मद शमी र मोहम्मद सिराजले १–१ विकेट लिए । शमीले यो  विश्वकपमा २४ विकेट लिएर कीर्तिमान रचेको भए पनि टिमलाई उपाधि भने जिताउन सकेनन् । 

लिग चरणमा भारतले अष्ट्रेलियालाई १९९ रनमै अलआउट गरेर ६ विकेटले जितेको थियो । 

यसअघि अहमदाबादस्थित विश्वकै सबैभन्दा ठूलो क्रिकेट स्टेडियम नरेन्द्र मोदी स्टेडियममा टस हारेर भारतले पहिले ब्याटिङ गर्दै सबै विकेट गुमाएर ५० ओभरमा २४० रन बनायो ।

भारतका लागि केएल राहुलले ६६, विराट कोहलीले ५४ तथा रोहित शर्माले ४७ रन बनाए । सूर्यकुमार यादवले १८ रन बनाए । 

त्यस्तै कुलदीप यादवले १० रन जोडे । त्यसबाहेक कसैले पनि दोहोरो स्कोर बनाउन सकेनन् । भारत पहिलो पटक यो विश्वकपमा अलआउट भएको हो । 

अष्ट्रेलियाका लागि मिचेल स्टार्कले सर्वाधिक ३ विकेट लिए । जोश हज्लेवुड र पाट कमिन्सले समान २–२ विकेट लिए । अष्ट्रेलियाले यो खेलमा निकै राम्रो फिल्डिङ गरेसँगै कम्तीमा ५० रन जोगाउन सफल भएको थियो । भारतले भने खराव फिल्डिङ गरेको थियो । 

दुई पटकको च्याम्पियन भारतले सेमिफाइनलमा न्यूजिल्याण्डलाई ७० रनले तथा अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई ३ विकेटले हराएको थियो । 

 

प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८०  २१:४४
प्रतिक्रिया दिनुहोस्