जापानलाई ४५ रनले हराउँदै नेपालले जित्यो तेस्रो स्थानको उपाधि

आइतबार, मंसिर ३, २०८०
Neuro hospital Nepalgunj

काठमाडौँ । जापानलाई हराउँदै नेपालले चार देशीय महिला टी–२० क्रिकेट श्रृंखलामा तेस्रो उपाधि जितेको छ । तेस्रो स्थानका लागि भएको भिडन्तमा नेपालले जापानलाई ४५ रनले पराजित गरेको हो ।

हङकङमा जारी प्रतियोगिताको तेस्रो स्थानको लागि भएको भिडन्तमा ११६ रनको चुनौती पछ्याएको जापान ६ विकेटको क्षतिमा ७० रनमा समेटियो । 

ओपनर अकारी निशिमुराले सर्वाधिक २९ रन बनाएको इनिङस्लाई कम योगफलमा रोक्ने क्रममा संगीता राई, इन्दू बर्मा, सीता रानामगर, खुशी डंगोल र सोनी पाख्रिनले १–१ विकेट लिए। 

खेलमा टस जितेर नेपालले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ११५ रन बनायो । ओपनर पूजा महतोले ५१ बलमा ४३ रन जोडिन् । त्यस्तै रोमा थापाले २२ तथा रुबिना क्षेत्रीले २१ रन बनाइन् । 

यसअघि हिजो भएको लिगको अन्तिम खेलमा नेपालले जापानलाई ६७ रनले हराएको थियो । जापान यो प्रतियोगिताकै सबैभन्दा कमजोर टिम हो । 

नेपाल यसअघि आयोजक हङकङ र तान्जिनियासँग पराजित हुँदै उपाधि होडबाट बाहिरिएको थियो । जापानले लिग चरणका सबै तीन खेल हारेको थियो । 

यसअघि नेपाल पहिलो खेलमा तान्जानियासँग २७ रनले तथा दोस्रो खेलमा हङकङसँग ९ विकेटले पराजित भएको थियो । 

 

  

प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८०  १०:४५
प्रतिक्रिया दिनुहोस्