नेपालगञ्जमा रातो नम्बर प्लेटका इ-रिक्सालाई यात्रु बोक्न प्रतिबन्ध

शनिबार, कात्तिक २५, २०८०
Neuro hospital Nepalgunj

नेपालगञ्ज । अबदेखि नेपालगञ्ज उपमहानगरपालिकाले रातो नम्बर प्लेटका इ-रिक्सालाई यात्रु बोक्न प्रतिबन्ध लगाउने भएको छ ।  निजी प्रयोजनका लागि खरिद गरिएका रातो नम्बर प्लेटका इ-रिक्सामा यात्रु बोक्ने क्रम बढेपछि अबदेखि यात्रु बोक्न प्रतिबन्ध लगाइने भएको हो ।

रातोलाई कालो नम्बर प्लेट बनाउन लगाउने र त्यसका लागि १५ दिने सूचना जारी गर्ने निर्णय गरिएको नगर प्रमुख प्रशान्त विष्टले बताए । नेपालगन्ज उपमहानगरपालिका क्षेत्रभित्र यात्रु बोक्ने धेरैजसो इ-रिक्सा रातो नम्बर प्लेटमा चलिरहेकोले ती इ-रिक्सालाई कालो नम्वर प्लेट बनाउन लगाउने र त्यसका लागि सम्बन्धित सवारी धनीलाई जानकारी गराउन १५ दिने सूचना जारी गर्ने निर्णय गरिएको छ ।

यस्तै नेपालगन्ज उपमहानगरपालिका क्षेत्रभित्र पर्ने इ-रिक्सा चलाउने अधिकांश चालकहरुले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) विना नै इ-रिक्सा चलाइरहेकले ती चालकलाई लाइसेन्स दिलाउनका लागि नेपालगन्ज उपमहानगरपालिका, यातायात व्यवस्था कार्यालय, ट्राफिक प्रहरी लगायत सम्पूर्ण सरोकारवालाको समन्वयमा सहजीकरण गरिदिने निर्णय भएको छ । रातो नम्बर प्लेटका इ-रिक्सालाई कालो नगराएको अवस्थामा प्रचलित कानुन बमोजिम कार्वाही गरिनेछ ।

यस्तै फोहोरमैलामैला व्यवस्थापन प्रभावकारी बनाउन सरोकारवालाबीच समन्वय वैठक बसी समाधान गर्ने निर्णय समेत भएको नगर प्रमुख विष्टले बताए ।

नेपालगञ्ज उपमहानगरपालिकामा हाल २ हजार ८ सय इ-रिक्सा मात्र सूचीकृत भएका छन् । नगरमा नियम-कानुन विपरीत जथाभावी इ-रिक्सा गुडेपछि दुर्घटना बढेको छ । त्यसलाई रोक्न कडा नियमन गरिने भएको हो । नेपालगन्जले थेग्न सक्ने भन्दा ठूलो संख्यामा इ-रिक्सा गुडेकाले त्यसलाई नियमन गर्न इ-रिक्सा व्यवस्थापनको कार्य प्रभाकारी ढंगले अघि बढाउन सरोकारवालासंग वैठक गरेर आवश्यक निर्णय गरिएको विष्टको भनाई छ । नेपालगन्ज उपमहानगरपालिकाले इ-रिक्सा व्यवस्थापनका लागि निरन्तर पहलकदमी लिँदै आएको छ ।

 

 

प्रकाशित मिति: शनिबार, कात्तिक २५, २०८०  ०८:२७
प्रतिक्रिया दिनुहोस्