मुगु सामूहिक हत्याकाण्ड आफ्नै आफन्तबाट भएको खुलासा

शुक्रबार, कात्तिक २४, २०८०
Neuro hospital Nepalgunj

मुगु । मुगु सामूहिक हत्याकाण्ड आफ्नै आफन्तबाट भएको रहस्य खुल्न आएको छ। मुगुको  छायानाथ रारा नगरपालिका ६ मुन्दुका एकै परिवारका चार जनाको हत्या आफन्तबाटै भएको खुल्न आएको हो। हत्या भएको १०  दिनपछि १८ गते प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले मुगु सामूहिक हत्याको अनुसन्धानको जिम्मा लिएको थियो ।

टोलीले घटनामा संलग्न आरोपमा २ जनालाई पक्राउ गरेको थियो । दुवै जनालाई शुक्रबार प्रहरीले पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेको छ ।

हत्या आरोपमा पक्राउ परेका  छायानाथ रारा नगरपालिका ७ पिना गाउँ  घर भइ हाल बाँके बैजनाथ गाउपालिका वडा नं १ चिसापानी बस्ने ३१ वर्षीय काले भन्ने गोर्खराज शाही र मुगुकै मृतककै गाउँका ३१ वर्षीय गोपालबहादुर बोहरालाई प्रहरीले सार्वजनिक गरेको हो  ।

हत्यापछि भागेका गोर्खराजलाई सीआईबीको टोलीले यही कात्तिक २० गते सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ५ पञ्चकोशी टोलबाट पक्राउ गरेको थियो  । उनी समातिएपछि हत्यामा गोपालको पनि संलग्नता खुलेको प्रहरीको दाबी छ । गोपाललाई गोर्खबहादुर पक्राउ परेको भोलिपल्ट कात्तिक २१ गते मुगुको गमगढी वडा नं २ बाट प्रहरीले पक्राउ गरेको थियो ।

यही कात्तिक ८ गते राति मुन्दुका २८ वर्षीया श्रीदेवी बोहरा, उनका ११ वर्षका छोरा मनोज बोहोरा, ७ वर्षकी छोरी अप्सरा बोहोरा र ५ महिनाका छोरा रहर बोहोराको घरभित्रै हत्या भएको थियो। 

हत्या आरोपित गोर्खबहादुर श्रीदेवीका काका  र गोपाल भाइ नाता पर्छन्। श्रीदेवी गोर्खराजको दिदी सासूकी छोरी हुन भने  गोपाल मामाका छोरा  भएको पत्रकार सम्मेलनमा बताइएको छ ।

घरमा दशै मनाएर  ७ गते टीका थाप्न  माइत गाउँ कोटिल्ला गएकी श्रीदेवी छोराछोरीसहित ८ गते बेलुका घर फर्किएकै राति धारिलो हतियार प्रहार गरी उनीहरूको हत्या भएको थियो ।

हत्याका आरोपी गोपालले कतारमा वैदेशिक रोजगारीमा रहेका मृतक श्रीदेवीका श्रीमान् दिपक बोहोरालाई आफूलाई पनि भिसा लगाइदिन २ वर्षअघि आग्रह गरेपछि दिपकले भिसा मिलाउन नसकिने जवाफ दिएका थिए । त्यही भिसा नमिलाइदिएको कारण रीस साटेको प्रहरीले बताएको छ ।

रिस साँध्ने र लुटपाट गर्ने दुवै जनाको पूर्वयोजना अनुसार गोर्खराज केही दिन पहिले नै गोपालको घरमा पुगेका थिए ।

उनीहरूले शुरुमा लुटपाटको योजना बनाएको र पछि परिवार नै सखाप पारेर हत्या गरेको प्रारम्भिक सोधपुछबाट खुलेको, २०८० जेठमा बाँकेको कोहलपुरबाट गोर्खराज शाही मन्दु पुगेर गोपाल बोहोरालाई भेटेको, त्यही भेटमा उनीहरूले श्रीदेवीसँग रहेको १०–१२ तोला सुन लुटपाट गर्ने योजना बनाइ  सोही योजना अनुसार कात्तिक ५ गते गोर्खबहादुर सुर्खेतबाट मुगु आइ गोपालको घरमा बसेको, ७ गते र ८ गते दिउँसो गोपालको पुरानो गोठमा लुकी बसेको गोपालले लुकाएर खाना खुवाएको  र कात्तिक ८ गते श्रीदेवी बोहोरा दुई छोरा र एक छोरीसहित माइतीघरबाट फर्किएपछि त्यही बेलुकी गोर्खबहादुर र गोपालले उनीहरूको हत्या गरेको बयानको क्रममा बताएको कर्णाली प्रहरी प्रमुख  डीआईजी भीमप्रसाद ढकालले पत्रकार सम्मेलनमा बताए । 

हत्यापछि उनीहरूले मृतकले कानमा लगाएका साढे दुई तोलाका सुनका रिङ, २५ लालको तिलहरी लुटेर लिई फरार भएका थिए ।

प्रहरीका अनुसार घटनापछि उनीहरू शव घरभित्रै छाडेर बाहिरबाट ढोकामा ताला लगाइ हिँडेका थिए। गोपाल बोहोरा त्यसपछि पनि गाउँमै बसेको र गोर्खबहादुर भने सुर्खेततर्फ फरार भएका थिए । 

प्रहरीका अनुसार अनुसन्धान टोलीले बाँके नेपालगन्ज उपमहानगरपालिका  १८ स्थित कारकादोस्थित गजेन्द्र विक्रम शाहीको घरमा गोर्खराज शाहीले लुकाइ छिपाइ राखेको नगद १ लाख ७९ हजार, निजकै नामको राहदानी, मुगुबाट गएको बसको टिकट फेला पारेको थियो।

घटनाको अनुसन्धानका लागि शुरुदेखि  जिल्ला प्रहरी कार्यालय मुगु प्रहरी नायव उपरीक्षक विरेन्द्र थापाको टोली र कर्णाली प्रदेश प्रहरी कार्यालयबाट खटिएको २ वटा अनुसन्धान टोलीले घटनास्थलमै खटिएर  म्यानुअल्ली अनुसन्धान  र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का डीएसपी धर्मराज भण्डारीको नेतृत्वमा खटिएको अनुसन्धान टोलीले प्रविधि अनुसन्धान गरेको थियो । 

म्यानुअल्ली र प्रविधि दुवै अनुसन्धानबाट आएको नतिजालाई केलाइ प्रहरीले मुगु सामूहिक हत्याका आरोपी पक्रन सफल भएको थियो । अनुसन्धानका क्रममा सीआईबीको टोली सुर्खेत, बाँके र मुगुसम्म पुगेको थियो ।

अनुसन्धानमा ४ टोलीका १४ सदस्य खटिएका थिए । प्रत्यक टोलीलाई छुट्टाछुट्टै क्षेत्र छुटाएर अनुसन्धान गरिएको थियो ।

प्रमुख हत्या आरोपी २ जना सार्वजनिक गरे पनि सामूहिक हत्याको अन्य थप अनुसन्धान जारी रहने पनि डीआईजी ढकालले बताए । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २४, २०८०  २२:२४
प्रतिक्रिया दिनुहोस्