भूकम्पकी घाइते आमाको पेटभित्र मरेको शिशुलाई शल्यक्रिया गरी निकालियो

सोमबार, कात्तिक २०, २०८०

बाँके । जाजरकोट भूकम्पबाट भेरी अस्पतालमा उपचाररत घाइतेहरूमध्ये आमाको पेटभित्र मरेको शिशुलाई शल्यक्रिया गरी निकालिएको छ। भेरी अस्पतालमा अहिलेसम्म सात जना घाइतेको अपरेशन गरिएको छ ।

घाइते भएकामध्ये ४१ जनाको भेरी अस्पतालमा उपचार चलिरहेको छ । हालसम्म ४३ जना भर्ना भएकोमा एक जनाको मृत्यु भएको छ भने एक जना डिष्चार्ज भएका छन् ।

एक जनाको आइसियूमा उपचार भइरहेको जिल्ला आपतकालीन कार्यालय संचालन केन्द्र बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले बताए । पहिले सिकिस्त भए पनि हाल सुधारोन्मुख घाइतेको संख्या दुई र सामान्य सुधारोन्मुख घाइतेको संख्या ३९ रहेको श्रेष्ठले जानकारी दिए। पछिल्लो १२ घन्टाभित्र चार जना घाइते भेरी अस्पतालमा थपिएका छन् भने एक जना उपचारपछि घर फर्किएको अस्पतालले जानकारी दिएको छ ।

आज बिहानसम्म भेरीमा २३ महिला र १८ पुरुषको उपचार भइरहेको छ । यी मध्ये जाजरकोटका २७, रुकुम पश्चिमका १३ तथा बाँके र सल्यानका १र१ जना छन् । 

 

 

 

प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८०  १०:१५
प्रतिक्रिया दिनुहोस्