सामाजिक सञ्जालको दुरूपयोग बढेपछि गृह मन्त्रालय याक्सनमा, कारबाही हुने चेतावनी

आइतबार, कात्तिक १९, २०८०
Neuro hospital Nepalgunj

काठमाडौँ । बर्तमान समयमा सामाजिक सञ्जालको दुरूपयोग बढेको भन्दै गृह मन्त्रालयले सदुपयोग गर्नका लागि आग्रह गरेको छ । मन्त्रालयले दुरूपयोग बढेको भन्दै गलत कदमविरुद्ध कानूनी कारबाही गर्ने चेतावनी दिएको छ। 

विज्ञप्ति जारी गर्दै मन्त्रालयले कानूनी कारबाहीबाट बच्नसमेत आग्रह गरेको छ । उसले सूचनामा भनेको छ, ‘टिकटक लगायतका सामाजिक सञ्जाल हाम्रो व्यक्तिगत तथा सामाजिक जीवनका अभिन्न अंग जस्तै बनेका छन् । यिनीहरुको मर्यादित र कानूनसम्मत प्रयोगले नयाँ कुराहरु जानकारी लिन दिन र सामाजिक सम्पर्कमा रहन सहयोग पुर्याउँछ। सामाजिक सञ्जालमा संप्रेषण गरिएका गलत सामग्रीले व्यक्ति तथा समाजलाई नकारात्मक प्रभाव पार्नुका साथै कतिपय अवस्थामा व्यक्तिको चरित्र हत्या गर्ने, शान्ति सुरक्षाको अवस्था विगार्ने, जातीय, भाषिक, धार्मिक सद्भाव खल्बल्याउने र राष्ट्रिय एकता तथा राष्ट्रहितमा प्रतिकूल असर पार्ने लगायतका दुष्प्रभाव सिर्जना गर्दछन्।’

मन्त्रालयले अगाडि भनेको छ, ‘सामाजिक सञ्जालको दुरुपयोग रोक्नका लागि त्यसमा प्रकाशन तथा प्रसारण हुने गैरकानूनी सामग्री स्वतः हटने व्यवस्था मिलाउन र दोषीउपर कानून बमोजिम कारवाही गर्न नेपाल प्रहरीको साइवर ब्युरो लगायत सरकारी निकाय र टिकटको कार्यालय, सिंगापुरबीच सहकार्य बढाउने उद्देश्यले गत शुक्रबार गृह मन्त्रालयमा बसेको गृह मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सुरक्षा निकाय लगायतका सरकारी निकाय एवम् टिकटकका अन्तर्राष्ट्रिय प्रतिनिधिहरुबीच छलफल भएको छ ।’

विज्ञप्तिमा, ‘उक्त छलफलबाट टिकटकमार्फत सामाजिक सदभाव बिगार्ने, घृणा तथा विद्वेष फैलाउने, विशिष्ट व्यक्तिहरुको मानमर्दन गर्ने, जातीय, धार्मिक, सामाजिक सद्भाव विगार्ने र अश्लील खालका गतिविधि तथा सामग्रीहरु हटाउन र त्यस्ता कार्य गर्ने व्यक्तिहरु पत्ता लगाई कानूनी कारवाहीको दायरामा ल्याउन सहज हुने भएको छ’ भनिएको छ । 

अन्तिममा गृह मन्त्रालयले भनेको छ, ‘अतः जिम्मेवार नागरिकको रूपमा कानूनसम्मत शिक्षामुलक र सामाजिक सदभाव नबिगार्ने सामग्री मात्र प्रकाशन, प्रसारण गरी असल नागरिकको भूमिका निर्वाह गर्न र गैरकानूनी कार्य गरेबापत हुने कानूनी कारबाहीबाट बच्न सम्बन्धित सबैमा अनुरोध गरिन्छ ।’ 

प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  १८:२४
प्रतिक्रिया दिनुहोस्