भूकम्पका घाइतेलाई भेट्न उपप्रधानमन्त्री खड्का पुगे भेरी अस्पताल

आइतबार, कात्तिक १९, २०८०
Neuro hospital Nepalgunj

नेपालगन्ज ।  उपप्रधान एवं रक्षा मन्त्री पूर्णबहादुर खड्काले भेरी अस्पतालमा उपचाररत भूकम्पका घाइतेहरुलाई भेट्नुभएको छ । आज अपरान्ह भेरी अस्पताल पुग्नुभएका उपप्रधानमन्त्री खड्काले घाइतेहरूको अवस्था बुझेका छन्  । 

उनले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै भेरी अस्पताललाई भूकम्पका घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिए । उनले सरकारले घाइतेहरूको नि:शुल्क औषधि गर्ने जानकारी गराउँदै प्रतिकार्य र राहतमा तदारुकताका साथ काम गरिरहेको बताए । उपप्रधानमन्त्री खड्कालाई बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बाँकेका अस्पतालहरुमा भूकम्प प्रभावित घाइतेहरुको प्रभावकारी उपचार, उद्दार र राहतका लागि भएका कामहरुको बारेमा जानकारी गराएका थिए । 

भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. पवनजंग रायमाझीले अस्पतालमा उपचाररत घाइतेहरुको अवस्थाबारे जानकारी गराएका थिए । सरकारले भूकम्प प्रभावित जिल्लाहरुका घाइतेको उपचारका लागि भेरी अस्पताललाई 'डेडिकेटेड अस्पताल' तोकेको छ ।

भेरीमा भूकम्पका घाइतेको उपचारका १०५ बेड छुट्ट्याइएको छ । हाल जाजरकोट र रुकुम पश्चिममा ३७ जना घाइतेहरूको भेरीमा उपचार भइरहेको छ । एक जना भने नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत छन् ।

 

प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  १७:२०
प्रतिक्रिया दिनुहोस्