जाजरकोट भूकम्प: भेरी अस्पतालमा उपचाररत सबै घाइते खतरामुक्त

आइतबार, कात्तिक १९, २०८०
Neuro hospital Nepalgunj

नेपालगन्ज । गत शुक्रबार मध्य रातमा जाजरकोट केन्द्रविन्दु बनाएर आएको भूकम्पबाट घाइते भएका मध्ये  ३८ जनाको बाँकेको नेपालगन्ज  र कोहलपुरमा उपचार जारी छ।

घाइतेहरु मध्ये  भेरी अस्पतालमा ३७ जनाको नेपालगंज मेडिकल कलेज कोहलपुरमा १ जनाको उपचार भइरहेको जिल्ला आपतकालिन कार्यालय संचालन केन्द्र बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिएका छन् ।

श्रेष्ठका अनुसार गएराति १२ बजेसम्म ५ जना गम्भीर घाइतेको सफल अपरेशन गरिएको छ भने  राति १२:५० बजे थप ६ जना बिरामी एम्बुलेन्स बाट उपचारका लागि भेरी अस्पतालमा लगिएको छ। जसमा घाइते मध्ये   २ जना जाजरकोटका  भेरी नगरपालिका र ४ जना रुकुम पश्चिमको सानी भेरी गाउँपालिकाका हुन्।

फोकल पर्सन श्रेष्ठका अनुसार हाल उपचाररत सबै घाइतेको अवस्था सुधारोन्मुख र खतरामुक्त रहेको छ। त्यस्तै अस्पताल पुर्‍याउनुपूर्व बाटोमै मृत्यु भएका जाजरकोटको नलगाँड – १ का  एक जनाको शव आफन्तलाई बुझाइएको छ। घाइतेमध्ये एक जना गर्भवती पनि छन्।उनको शल्यक्रिया गर्ने तयारी गरिएको छ।

 

 

 

प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  ०९:०२
प्रतिक्रिया दिनुहोस्