जाजरकोट भूकम्प: बाँकेबाट राप्ती सोनारीको पहिलो सहयोग

शनिबार, कात्तिक १८, २०८०
Neuro hospital Nepalgunj

नेपालगन्ज । बाँकेमा जाजरकोट भूकम्प पीडितका लागि बाँकेबाट सहयोग उपलब्ध गराउने राप्ती सोनारी गाउँपालिका पहिलो भएको छ। राप्ती सोनारीका अध्यक्ष तप्त बहादुर पौडेलको निर्देशनमा आपतकालीन स्वास्थ्य सेवाका साथै विपदका लागि साढे ३ लाख रुपैयाँ जिल्ला प्रशासन कार्यालय बाँक मार्फत पठाएको छ।

त्यस्तै राप्तीसोनारीले आर्थिक सहयोगसहित  १  लाखको औषधि, १ लाखको खाद्यान्न तथा २० थान त्रीपाल र २० थान ब्ल्यांकेटका साथै एकजना चिकित्सक सहितको स्वास्थ्यकर्मीको टोलि प्रभावित क्षेत्रमा सहयोगको लागि पठाइएको छ।

 त्यहाका घाइतेको उपचार व्यवस्थापनका लागि सबै संयन्त्र क्रियाशील राखिने भएको छ । भेरी अस्पताल परिसरमै बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले भूूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतीलाई मध्यनजर गरी आवश्यक प्रतिकार्यका लागि सवै संयन्त्रलाई क्रियाशील राख्ने निर्णय गरेको हो । 

भूूकम्पका कारण घाइते विरामीको उपचारका लागि भेरी अस्पताललाई डेडिकेटेड अस्पतालको रुपमा स्थापना गर्ने निर्णय गरिएको छ । साथै नेपालगञ्ज मेडिकल कलेज लगायत सवै अस्पताललाई तयारी अवस्थामा राख्ने निर्णय पनि गरिएको प्रमुख जिल्ला अधिकारी श्रबणकुमार पोख्रेलले जानकारी दिए । 

विरामीका लागि रगतको अभाव हुन नदिन सबै स्वयंसेवकलाई रक्तदानका लागि अनुरोध गर्ने निर्णय पनि गरिएको छ । भूूकम्पवाट प्रभावित क्षेत्र तथा मानवीय सहयोगका लागि अस्पतालहरुमा समन्वय गर्न स्वास्थ्य कार्यालय बाँकका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठ र समन्वय तथा राहत व्यवस्थापनका लागि प्रशासकीय अधिकृत रामकुमार सोनकर र सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीलाई फोकल पर्सन तोक्ने निर्णय भएको पोख्रेलले बताए । राँझा विमानस्थलमा रहेको मानवीय सहायता कक्षमा जिल्ला विपद् व्यवस्थापन समिति बाँकेको राहत भण्डारण गरी परिचालन गर्ने निर्णय गरिएको छ । 

नेपालगञ्ज उपमहानगरपालिकाको तर्फवाट तत्काल राहत स्वरुप रु. ४ लाख बरावरको खाद्यान्न र त्रिपाल, झुल, पिफर्म लगायत १०० जना परिवारको लागि पुग्ने सामग्री साथै मेडिकल टिम परिचालन गर्ने निर्णय भएको सूचना व्यवस्थापन अधिकृत ज्ञवालीले बताए। यस्तै कोहलपुर नगरपालिकाको तर्फवाट तत्काल राहत स्वरुप रु. २ लाख बरावरको खाद्यान्न र औषधी उपलव्ध गराइने भएको छ । 

खजुरा गाउँपालिकाको तर्फवाट रु. ३ लाख बरावरको औषधि सहयोग गर्ने भएको छ । नेपाल रेडक्रस सोसाइटी बाँकेको समन्वयमा केन्द्रिय कार्यालयमार्फत जाजरकोट र पश्चिम रुकुममा ६०० थान कम्मल, त्रिपाल र पिफर्म उपलव्ध गराउने निर्णय गरिएको छ ।

यता नरैनापुर गाउँपालिकाले उपचारका लागि सबै समाग्री उपलब्ध गराउने बताएको छ। जिल्ला विपद् व्यवस्थापन समिति बाँकेको तर्फवाट तत्कालै १० थान टेन्ट, ५० थान त्रिपाल र ५० थान कम्मल उपलव्ध गराइने भएको छ ।

प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  १९:३१
प्रतिक्रिया दिनुहोस्